लोअर हेवाखोला जलविद्युत आयोजनामा सिद्धार्थ र राष्ट्रिय वाणिज्य बैंकले सवा ९८ करोड ऋण लगानी गर्ने

आयोजना बनाउन कुल लागत १ अर्ब ४० करोड २५ लाख रुपैयाँ लाग्ने अनुमान गरिएकामा बाँकी रकम प्रवर्धक कम्पनी पाँच खपन जलविद्युत प्रालिबाट जुटाइने छ ।

काठमाडौं । ६.८४८ मेगावाट क्षमताको लोअर हेवाखोला जलविद्युत आयोजनामा दुई बैंकले ९८ करोड १७ लाख रुपैयाँ ऋण लगानी गर्ने भएका छन् ।

आयोजनामा सिद्धार्थ बैंकले ५० करोड र राष्ट्रिय वाणिज्य बैंकले ४८ करोड १७ लाख रुपैयाँ ऋण लगानी गर्ने भएका हुन् । आयोजनामा ऋण लगानी सम्बन्धमा आइतबार सम्झौता भएको छ ।

आयोजना बनाउन कुल लागत १ अर्ब ४० करोड २५ लाख रुपैयाँ लाग्ने अनुमान गरिएकामा बाँकी रकम प्रवर्धक कम्पनी पाँच खपन जलविद्युत प्रालिबाट जुटाउने भनिएको छ । कम्पनीका अनुसार आयोजनाको इलेक्ट्रो–मेकानिकल कामको ठेक्का अष्ट्रियाको जेपर्ट ग्रुपसँगको सहकार्यमा अगाडि बढाइएको छ ।

कम्पनीका अध्यक्ष वसन्त कुमार तामाङले सम्झौताअनुसार जेपर्टले एक वर्षभित्र सम्पूर्ण उपकरण आपूर्ति र जडानको काम सम्पन्न गर्ने बताए । जेपर्टले हालसम्म नेपालका १९ वटा जलविद्युत आयोजनामा काम गरेको छ । ती मध्ये ९ वटा आयोजना सञ्चालनमा आइसकेका छन् ।