सरकार व्यवसायी जगतलाई भरोसा दिलाउन तयार छ तर, भ्रष्ट आचरण गर्नेलाई निरुत्साहित गर्छः अर्थमन्त्री
सरकार व्यवसायी जगतलाई भरोसा दिलाउन तयार छ । तर, भ्रष्ट आचरण गर्ने व्यवसायीहरूलाई निरुत्साहित गरिनेछ । सरकारले केही नयाँ कार्यविधि बनाएको छ, जसले निजी क्षेत्रको मनोबल उच्च बनाउनेछ ।
काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रलाई सरकारको महत्वपूर्ण साझेदारका रूपमा रहेको बताएका छन्। उनले देशभित्र भ्रष्टाचार रोक्न नसके आर्थिसुधार सम्भव नहुने स्पष्ट पार्दै पारदर्शिता र सुशासनमा सरकार प्रतिबद्ध रहेको जनाए ।
नेपाल उद्योग वाणिज्य महासंघद्वारा शनिबार काठमाडौंमा आयोजित राष्ट्रिय वृहत आर्थिक बहस २.० लाई सम्बोधन गर्ने क्रममा मन्त्री खनालले भन्सार प्रशासनमा आमूल सुधारका योजना अघि बढाइरहेको जानकारी दिए । उनका अनुसार सरकारले अब पूर्ण लेखापरीक्षण प्रणाली लागू गर्दै ‘फेसलेस प्रशासन’ कार्यान्वयन गर्ने तयारी गरेको छ। 'फेसलेस प्रणाली लागू भएपछि भ्रष्टाचारमा उल्लेख्य कमी आउनेछ,' मन्त्री खनालले दाबी गरे ।
व्यवसायिक क्षेत्रप्रति सरकारको समर्थन स्पष्ट गर्दै उनले भने,'सरकार व्यवसायी जगतलाई भरोसा दिलाउन तयार छ । तर, भ्रष्ट आचरण गर्ने व्यवसायीहरूलाई निरुत्साहित गरिनेछ । सरकारले केही नयाँ कार्यविधि बनाएको छ, जसले निजी क्षेत्रको मनोबल उच्च बनाउनेछ ।'
मन्त्री खनालका अनुसार निजी क्षेत्रले लिने कर्जा अन्ततः राज्यको कर र जनताको लगानीमा आधारित हुन्छ, त्यसैले जिम्मेवार ढंगले सञ्चालन गर्नुपर्नेमा जोड दिए । साथै, उनले गलत सूचना फैलाउँदा स्वयं व्यवसायीलाई नै क्षति पुग्ने चेतावनी दिँदै सूचनाको सत्यता पुष्टि गर्न आग्रह गरे ।