उद्योगीको पीरमर्का हाम्रो पनि हो, डराएर नभई आत्मविश्वासका साथ अघि बढ्नुपर्छः प्रधानमन्त्री कार्की
तपाईंहरूका पीरमर्का हाम्रै पीरमर्का हुन् । उद्योगी व्यवसायीहरू केवल राज्यलाई कर मात्र तिरेका हुँदैनन्, उनीहरूले ठूलो जनसङ्ख्यालाई रोजगारी र सामाजिक सुरक्षाको सुनिश्चितता दिएर राज्यको ठूलो दायित्व पनि वहन गरिदिएका हुन्छन् ।
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले उद्योगीहरूको पीरमर्का सरकारको पनि भएको बताएकी छिन् ।
नेपाल उद्योग वाणिज्य महासंघद्वारा शनिबार काठमाडौंमा आयोजित राष्ट्रिय वृहत आर्थिक बहस २.० लाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री कार्कीले भनिन्, ‘तपाईंहरूका पीरमर्का हाम्रै पीरमर्का हुन् । उद्योगी व्यवसायीहरू केवल राज्यलाई कर मात्र तिरेका हुँदैनन्, उनीहरूले ठूलो जनसङ्ख्यालाई रोजगारी र सामाजिक सुरक्षाको सुनिश्चितता दिएर राज्यको ठूलो दायित्व पनि वहन गरिदिएका हुन्छन् ।'
उद्योग व्यवसायबिना देश बन्न नसक्ने जिकिर गर्दै प्रधानमन्त्री कार्कीले उद्योगीको मनोबन नउठेसम्म अर्थ व्यवस्था उठ्न नसक्ने बताइन् ।
‘कुनै पनि व्यवसाय, उद्यमीको सपना, वित्तीय क्षेत्रको लगानी, पेसाकर्मीहरूको दक्षता र श्रमिकहरूको पसिनाले सिञ्चित हुन्छ, जसमा समाज र सरकारको भूमिका उचित वातावरणको निर्माणमा केन्द्रित हुन्छ,’ प्रधानमन्त्री कार्कीले भनिन्, ‘म सबै उद्यमी, किसान र युवाहरूलाई आह्वान गर्न चाहन्छु-डराउने होइन, बरु आत्मविश्वासका साथ अगाडि बढ्नुहोस् । तपाईंहरूले आशंका र भय पाल्ने बेला होइन । हातेमालो गर्ने बेला हो ।’
विभिन्न अध्ययनले हाम्रो आर्थिक वृद्धिदर बढ्ने र महँगी घट्ने संकेत दिएको पनि भन्दै प्रधानमन्त्री कार्कीले भनेकी छिन्, ‘जसले हाम्रो प्रयास सही दिशामा छ भन्ने देखाउँछ । हामीले हिजोभन्दा राम्रो भोलि बनाउन एकजुट हुनेछौं ।’
सरकार आगामी फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचनको तयारीमा जुटेका जानकारी गराउँदै उनले थप भनेकी छिन्, ‘निर्वाचनमार्फत दिगो लोकतान्त्रिक प्रक्रियामा मुलुक अगाडि बढाउने र यहीँ नै गरीखान सकिन्छ भन्ने आशा जगाउँदै त्यसका लागि उपयुक्त वातावरण बनाउन प्रयासरत छौं । निर्वाचन सफल बनाउन र स्वच्छ बनाउन निजी क्षेत्रको पनि महत्त्वपूर्ण भूमिका हुन्छ ।’