सरकारी प्रेसबाटै लाइसेन्स छाप्न सुरू, ६ महिनाभित्र सबैजनालाई बाँडिसक्छौँ: सञ्चारमन्त्री खरेल
केन्द्रको मेसिनबाट राष्ट्रिय परिचयपत्र, राहदानी, लालपूर्जा, विभिन्न स्टीकर, हुलाक टिकटलगायत थुप्रै काम गर्न सकिने भए पनि लामो समयसम्म छपाइको काम हुन सकेको थिएन । अहिले सरकारी प्रेसबाटै लाइसेन्स छपाइ सुरु भएको हो ।
काठमाडौं । काभ्रेमा रहेको सुरक्षण मुद्रण केन्द्रमा सवारीचालक अनुमति पत्र (लाइसेन्स) छपाइ सुरु भएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले शुक्रबार बटम थिचेर सवारीचालक अनुमति पत्र (लाइसेन्स) छपाइ शुभारम्भ गरेका छन् ।
शुक्रबार केन्द्रमा पुगेर सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले चालक अनुमति पत्र (लाइसेन्स) छपाइ कार्यको सुरूवात गरे । हाल यातायात व्यवस्था विभागबाट प्राप्त डाटा अनुसार दैनिक करिब ५ सय वटा लाइसेन्स छापिने बताइएको छ ।
६ महिनाभित्र छाप्न बाँकी सबै लाइसेन्स छापेर सेवाग्राहीहरूलाई वितरण गर्ने योजना रहेको मन्त्री खरेलले बताए । लाखौं सेवाग्रही लाइसेन्स नपाएर कागज बोकेर हिँड्नुपर्ने अवस्थाको अब अन्त्य हुने खरेलले विश्वस्त पारे । यसअघिको लाइसेन्सको लागत ३ सय रूपैया पर्नेमा अब केन्द्रबाट छापिने लाइसेन्सको लागत २ सय रूपैयामात्रै लाग्ने उनले जानकारी दिए ।
खरेलकाअनुसार केन्द्रको मेसिनबाट राष्ट्रिय परिचयपत्र, राहदानी, लालपूर्जा, विभिन्न स्टीकर, हुलाक टिकटलगायत थुप्रै काम गर्न सकिने भए पनि लामो समयसम्म छपाइको काम हुन सकेको थिएन । लाइसेन्स, राहदानी, राष्ट्रिय परिचयपत्रलगायत छपाइ सधैं विदेशी कम्पनीलाई ठेक्का दिँदा रकम बाहिर जाने अवस्था र सुरक्षाको सवाल पनि उठ्ने गरेको थियो ।
‘अहिले हामीले निकै मेहनत गरेर सरकारी प्रेसबाटै लाइसेन्स छपाइ सुरु गरेका छौं,’ सञ्चारमन्त्री खरेलले भने, ‘२८ लाख ड्राइभिङ लाइसेन्स छाप्नुपर्ने अवस्था छ । चिट कागजमा मात्रै सीमित रहेको अवस्यामा यहाँबाट छपाइ सुरु गरेर जनतलाई सुशासनको प्रत्याभूति दिने हाम्रो सोच रहेको छ ।’ नागरिकता, अन्तशुल्क स्टिकर, हुलाक टिकट, लालपुर्जा र भिसा स्टिकर छपाइ गर्न सकिने सुरक्षण मुद्रण केन्द्रमा हालसम्म झण्डै तीन अर्ब लगानी भएको छ ।