डेडिकेटेड तथा ट्रंकलाइन विवाद: ठूलो उद्योगमध्येको रिलायन्स स्पिनिङ तिर्यो पहिलो किस्ता, जोडियो लाइन
बक्यौता तिर्नका लागि २१ दिनको समय दिंदा पनि नटेरेपछि प्राधिकरणले कात्तिक ४ गते रिलायन्स स्पिनिङ मिल्ससहित ६ ठूला उद्योगको लाइन काटिदिएको थियो । यस्तै ८ गते थप १९ उद्योगको लाइन काटिएको थियो ।
काठमाडौं । डेडिकेटेड र ट्रंक लाइनको बक्यौता विवादमा ठूला उद्योगले पनि किस्ता तिर्न थालेका छन् । रिलायन्स स्पिनिङ मिल्सले डेडिकेटेड र ट्रंक लाइनको बक्यौताको पहिलो किस्ता तिरेको छ ।
रिलायन्सले २०७२ माघदेखि २०७५ वैशाखसम्ममा डेडिकेटेड र ट्रंक लाइन प्रयोग बापतको प्रिमियम महसुलको पहिलो किस्ता बिहीबार बुझाएको हो । रिलायन्सले पहिलो किस्ताबापत २ करोड ७७ लाख रुपैयाँ बुझाएको छ ।
रिलायन्सको नाममा ७५ करोड ३७ लाख रुपैयाँ बक्यौता छ । त्यसलाई २८ किस्तामा विभाजन गरी उद्योगले बिहीबार पहिलो किस्ताको रकम तिरेको हो । पहिलो किस्ताको रकम पाएसँगै प्राधिकरणले विभागको विद्युत लाइन जोडिदिएको छ।
बक्यौता तिर्नका लागि २१ दिनको समय दिंदा पनि नटेरेपछि प्राधिकरणले कात्तिक ४ गते रिलायन्स स्पिनिङ मिल्ससहित ६ ठूला उद्योगको लाइन काटिदिएको थियो । यस्तै ८ गते थप १९ उद्योगको लाइन काटिएको थियो ।
प्राधिकरणले लाइन काटेपछि रिलायन्स स्पिनिङ मिल्स अघि ९ वटा उद्योगले पहिलो किस्ता बुझाएका थिए । पहिलो किस्ता बुझाउने उद्योगमा प्राधिकरणले पैसा पाएकै दिन लाइन जोडिसकेको छ । अझै १५ वटा उद्योगले बक्यौता तिर्न बाँकी छ ।