नेप्सेसँगै बढ्यो कारोबार रकम, फाइनान्स समूहमा तिब्र बृद्धि
आइतबार ६ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार हुँदै २०५ कम्पनीको सेयर मूल्य बढेको छ भने ४२ कम्पनीको मूल्य घट्दा ३ कम्पनीको मूल्य भने स्थिर छ ।
काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) बढेर बन्द भएको छ। गत साताको अन्तिम कारोबार दिन बिहिबार बढेर बन्द भएको आइतबार नेप्से ३०.७५ अंक बढेर २६३१.१४ विन्दुमा पुगेको छ । त्यस्तै, आइतबार सेन्सेटिभ इण्डेक्स ४.४१, फ्लोट इण्डेक्स २.२० र सेन्सेटिभ फ्लोट इण्डेक्स १.२३ अंक बढेको छ ।
नेप्सेको वृद्धिलाई आइतबार कारोबारको आकारले पनि साथ दिएको छ । बिहीबार ७ अर्ब ५१ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको बजारमा आइतबार ९ अर्ब २० करोड ३१ लाख ४६ हजार रुपैयाँबराबरको २ करोड ९७ लाख ३८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।
आइतबार ६ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार हुँदै २०५ कम्पनीको सेयर मूल्य बढेको छ भने ४२ कम्पनीको मूल्य घट्दा ३ कम्पनीको मूल्य भने स्थिर छ । आइतबार सामुदायिक लघुवित्त वित्तीय संस्था, गोर्खाज फाइनान्स, पञ्चकन्या माइ हाइड्रोपावर, पिपुल्स पावर, तेह्रथुम पावर र गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ भने नारायणी डेभलपमेन्ट बैंकको शेयरमूल्य ८ प्रतिशत बढेको छ।आइतबार खानी खोला हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ४.७६ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा आइतबार हिमालयन बैंक लिमिटेडको संस्थापक शेयर शीर्ष स्थानमा छ। हिमालयनको आइतबार १ अर्ब ६६ करोड ५० लाख रुपैयाँबराबरको संस्थापक शेयर कारोबार भएको छ । त्यस्तै, यूनियन हाइड्रोपावरको करिब साढे ३४ करोड रुपैयाँबराबरको शेयर किनबेच भएको छ ।
१३ उपसमूहमध्ये आइतबार १२ उपसमूहको सूचक बढेको छ भने १ समूहको सूचक घटेको छ। आइतबार वित्त उपसमूह सूचक सर्वाधिक ५.१७ प्रतिशत बढेको छ । व्यापार उपसमूह सूचक १.१० प्रतिशत घटेको छ।