वीरगञ्ज भन्सारको अनलाइन डाटाबेस प्रणाली सुरु, वैध व्यापार प्रोत्साहन हुने अर्थमन्त्री खनालको दाबी
विश्व व्यापार संगठनद्वारा अनुमोदित ग्याट भेलुयसन प्रणालीलाई नेपालको भन्सार कानुनले स्वीकारेको सन्दर्भमा परीक्षणका लागि अनलाइन कस्टम डाटाबेस प्रणाली कार्यान्वयनमा ल्याइएको हो ।
काठमाडौं । वीरगञ्ज भन्सार कार्यालयले अनलाइन भन्सार डाटाबेस प्रणाली सुरु गरेको छ ।
अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सन्दर्भ मूल्यसूची विस्थापन हुनेगरी भन्सार कार्यालयहरूमा अनलाइन भन्सार डाटाबेस प्रणालीको भर्चुअलरुपमा शनिबार शुभारम्भ गरेका हुन् । आर्थिक वर्ष २०८२/०८३ को बजेटमा सन्दर्भ मूल्य हटाएर अनलाइन भन्सार डाटावेस प्रणाली कार्यान्वयनमा ल्याउने घोषणा गरिएको थियो । भौतिक रुपमा वीरगञ्जमा उपस्थित भएर सेवा सुभारम्भ गरिने कार्यक्रम भएपनि मौसम प्रतिकुलताका कारण सम्भव नभएपछि भर्चुअल रुपमा सेवा शुभारम्भ भएको हो ।
सो अवसरमा मन्त्री खनालले अर्थतन्त्रको महत्त्वपूर्ण खम्बाको रूपमा रहेको निजी क्षेत्रलाई सुरक्षा र सुशासनको प्रत्याभूतिसहित व्यवसाय सञ्चालनको वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको बताए।
खनालले विश्व व्यापार संगठनद्वारा अनुमोदित ग्याट भेलुयसन प्रणालीलाई नेपालको भन्सार कानुनले स्वीकारेको सन्दर्भमा परीक्षणका लागि अनलाइन कस्टम डाटाबेस प्रणाली कार्यान्वयनमा ल्याइएको बताए ।
प्रणालीको कार्यान्वयनले वैध व्यापारलाई प्रोत्साहन गर्ने, मूल्य अभिवृद्धि करलगायत अन्य कर कार्यान्वयनमा सहायता पुग्ने, अनौपचारिक कारोबारमा कमी आउने विश्वास उनले व्यक्त गरे ।
शुभारम्भ कार्यक्रममा अर्थसचिव घनश्याम उपाध्याय, भन्सार विभागका महानिर्देशक श्यामप्रसाद भण्डारी, अर्थ मन्त्रालयका सहसचिव उत्तरकुमार खत्री, राजस्व अनुसन्धान विभागका महानिर्देशक तीर्थ चिलुवाल, वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवाली, एसियाली विकास बैंकका भन्सार मूल्याङ्कन विज्ञ निर्मलहरि अधिकारी, वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमलगायतले मन्तव्य राखेका थिए ।