क्रिकेट विश्वकप लिग-२: अमेरिकासँग टस हारेर पहिला ब्याटिङ गर्दै नेपाल

नेपाल र अमेरिकाबीचको पछिल्ला पाँच भेटमा अमेरिका धेरै बलियो स्थितिमा देखिन्छ । अमेरिकाले पछिल्ला पाँच खेलमा चार वटामा जित निकाल्दा नेपालले एउटा खेल जितेको छ ।

काठमाडौं । नेपाली क्रिकेट टोलीले अमेरिकाविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । क्रिकेट विश्वकप लिग-२ अन्तर्गत युईएमा जारी त्रिकोणात्मक सिरिजको आफ्नो तेस्रो खेलमा नेपाल अमेरिकाविरुद्ध ब्याटिङमा उत्रिन लागेको हो ।

यूएईको दुबईस्थित आईसीसी एकेडेमीको मैदानमा अमेरिकाका कप्तान मोनांक पटेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिए ।

नेपाल र अमेरिकाबीचको पछिल्ला पाँच भेटमा अमेरिका धेरै बलियो स्थितिमा देखिन्छ । अमेरिकाले पछिल्ला पाँच खेलमा चार वटामा जित निकाल्दा नेपालले एउटा खेल जितेको छ । यूएईमा पनि अमेरिकाले नेपाल र यूएईलाई यसअघिका खेलमा हराउँदै अपराजित छ । नेपाल भने यसअघिका दुई खेलमै पराजित भएको थियो ।

अंकतालिकामा २२ खेलबाट ३२ अंक बनाएको अमेरिका शीर्षस्थानमा छ । सातौँ स्थानमा रहेको नेपालले १८ खेलबाट १२ अंक बनाएको छ ।

नेपालको प्लेइङ ११ टोलीमा रोहितकुमार पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, सन्दीप लामिछाने, कुशल भुर्तेल, भीम सार्की, गुल्सन झा, आशिफ शेख, नन्दन यादव, करण केसी र ललित राजवंशी छन् ।