रोजगारीका लागि मलेसियाको नयाँ मापदण्डबारे सिंहदरबारमा छलफल

नेपालमा हाल करिब १२०० वटा म्यानपावर कम्पनी रहेकामा ९०० वटाले मलेसियामा श्रमिक पठाउँदै आएका छन् । मलेसियाले नेपालसहित ५ वटा स्रोत देशबाट श्रमिक पठाउने म्यानपावर कम्पनीका लागि १० बुँदे मापदण्ड निर्धारण गरेको छ ।

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले रोजगार व्यवसायीका लागि मलेसियाको नयाँ मापदण्डबारे छलफल गरेकी छिन् । उनले यसबारे शुक्रबार श्रम,अर्थ,परराष्ट्र र कानुन मन्त्रालयका अधिकारीहरूसँग सिंहदरबारमा छलफल गरेकी हुन् ।

छलफलमा मलेसियाले पठाएको १० बुँदे मापदण्ड प्रस्ताव मात्र भएकाले अन्तिम नभएको भन्दै द्विपक्षीय वार्ताका माध्यमबाट नेपाली श्रमिक र व्यवसायी दुवैको अधिकतम हित हुने गरी मर्यादित र सुरक्षित रोजगारी सुनिश्चित गर्ने निष्कर्ष निकालिएको छ । छलफलमा अर्थमन्त्री रामेश्वर खनाल, कानुनमन्त्री अनिलकुमार सिन्हा, मुख्य सचिव एकनारायण अर्याल, श्रम सचिव कृष्णहरि पुष्कर लगायत विभिन्न सरोकारवाला निकायका उच्च अधिकारीको उपस्थिति थियो ।

नेपालमा हाल करिब १२०० वटा म्यानपावर कम्पनी रहेकामा ९०० वटाले मलेसियामा श्रमिक पठाउँदै आएका छन् । मलेसियाले नेपालसहित ५ वटा स्रोत देशबाट श्रमिक पठाउने म्यानपावर कम्पनीका लागि १० बुँदे मापदण्ड निर्धारण गरेको छ । तोकिएको मापदण्ड पूरा नगर्ने म्यानपावर कम्पनीबाट मलेसियाले श्रमिक लाने छैन । नयाँ मापदण्ड अनुसार करिब एक दर्जन ठूला कम्पनी मात्र मलेसियामा श्रमिक पठाउन योग्य हुनेछन् । मलेसियाले तोकिएको मापदण्ड पूरा गर्ने म्यानपावर कम्पनीको सूची कात्तिक २९ गतेभित्र उपलब्ध गराउन सरकारलाई पत्र समेत पठाइसकेको छ ।