बीपी र मेची राजमार्ग, तमोर करिडोर, मुग्लिन–नारायणगढलगायत धेरै सडकहरु बन्द

मोन्था चक्रवातको आंशिक प्रभावले कोशी प्रदेशका इलामसहितका जिल्ला समेत जोखिममा पर्ने पूर्वानुमान सार्वजनिक भएसँगै जिल्ला प्रशासन कार्यालयले सो सडकखण्डमा बिहीबार साँझदेखि सवारी आवागमनमा रोक लगाएको थियो ।

काठमाडौं । हिजोदेखी सुरु भएको निरन्तर वर्षाका कारण मुलुकभरका धेरै सडकहरु अवरुद्ध भएका छन् ।

पछिल्लो विवरणअनुसार बीपी राजमार्ग, मेची राजमार्ग , तमोर करिडोर, मुग्लिन–नारायणगढ सडकलगायत धेरै राजमार्ग बन्द भएका छन् । वर्षातको समयमा बाढी र पहिरोको उच्च जोखिम भएकाले सडकको अवस्था बुझेर मात्रै सुरक्षित यात्रा गर्न विभिन्न निकायहरुले अनुरोध गरिरहेका छन् ।

बिहान १० बजे नेपाल प्रहरीले बाटो अवरुद्ध भएको सम्वन्धि विपद सूचना सार्वजनिक गरेर सडकहरु अवस्था उजागर गरेको छ । प्राप्त बिबरणअनुसार पाँचथर र धनकुटाको सिमानामा पर्ने नावा खोलामा बाढी आएपछि धरान, धनकुटा, मूलघाट हुँदै पाँचथर–ताप्लेजुङ जोड्ने तमोर करिडोर अवरुद्ध भएको छ ।

यसैगरी मेची राजमार्ग अन्तर्गत इलामको राजदुवाली क्षेत्रमा पनि बाटो बन्द छ । गत असोजमा आएको बाढीपहिरोले क्षति पुगेपछि खोलिएको नयाँ ट्र्याकको ठाउँ–ठाउँमा पहिरो गएका कारण र जमिन भासिएका कारण राजमार्ग अवरुद्ध भएको हो । मोन्था चक्रवातको आंशिक प्रभावले कोशी प्रदेशका इलामसहितका जिल्ला समेत जोखिममा पर्ने पूर्वानुमान सार्वजनिक भएसँगै जिल्ला प्रशासन कार्यालयले सो सडकखण्डमा बिहीबार साँझदेखि सवारी आवागमनमा रोक लगाएको थियो ।

त्यसैगरि, बीपी राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोक खण्डको विभिन्न स्थानमा पहिरो र लेदोको कारण सवारी आवागमन पूर्णरुपमा अवरुद्ध भएको छ । राजमार्गको अवरोध हटाएर सडक सञ्चालन गर्न समय लाग्ने भएकाले पूर्व जाने गाडीहरु काभ्रेपलाञ्चोकको भकुन्डेमा रोकिएका छन् । अविरल वर्षाका कारण बीपी राजमार्ग अन्तरगत चौकीडाँडा, चारसयबेसीको नाङसाल क्रसर, बोक्सीकुना र माम्तीमा पहिरो खसेर सडक अवरुद्ध भएको छ भने नार्के, पिन्थलीबेसी, विरुवाडाँडा लगायतका स्थानमा लेदोका कारण राजमार्ग पूर्णरुपमा अवरुद्ध छ ।

मुग्लिन–नारायणगढ सडक खण्डको तुइन खोला पुल नजिकै माथिबाट ढुंगा खस्दा सवारी आवागमन अवरुद्ध भएको छ । सडक डिभिजन कार्यालय चितवनका अनुसार ढुंगा खस्ने क्रम रोकिएको छैन । ढुंगाहरू झर्ने क्रम रोकिएपछि सडक खुलाउने कार्यालयले जनाएको छ । मुग्लिन–नारायणगढ सडक खण्डको तुइन खोला नजिक यसअघि सुक्खा पहिरो जाँदा लगातार तीन दिनसम्म सवारी आवागमन बन्द भएको थियो ।



बाटो अवरुद्ध भएको सम्बन्धी :- मिति २०८२।०७।१४ गते १०:०० बजे सम्म ।


१. जि.संखुवासभा भोटखोला गा.पा.४ बरुणखोला स्थित कोशी राजमार्ग अबरुद्ध ।

मिति २०८२।०२।०६ गते १२:०० बजेको समयमा जि. संखुवासभा भोटखोला गा.पा.-४, स्थित बरुणखोलामा बाढी आई ह्युम पाइप बगाएको हुँदा खाँदबारी देखि थुमसुर जाने कोशी राजमार्ग पूर्ण रुपमा अवरोध भएको । 

 

 २.रुकुम पुर्व मध्यपहाडी लोकमार्ग निर्माण कार्य अवधिसम्मको लागी पुर्णरुपमा बन्द हुने ।

मिति २०८२।०७।१२ गते अं.१०:०० बजे पुष्पलाल (मध्य पहाडी) राजमार्ग अन्तर्गत सिस्ने गा.पा.६ रानीकोट,किटानी,साँख एरियामा बाँकी रहेको निर्माण काम हुने भएको हुँदा मिति २०८२।०७।१२ गते देखी मिति २०८२।०७।३० गतेसम्म मध्य पहाडी राजमार्गको रानीकोट,किटानी,साँख सडक खण्ड तर्फ संचालन हुने यातायात सवारी संचालन पूर्ण रूपमा बन्द रहेको  ।

निम्न बैकल्पिक मार्गहरूः-

१.रानीकोट,किटानी,साँख खण्ड प्रयोग गर्ने ठुला सवारी साधनहरूको लागि बैकल्पिक मार्गको रूपमा कैचीमोड – धाउन्ने – पोखरा छिनखेत मार्ग प्रयोग गर्न हुन ।

२. रानीकोट,किटानी,साँख खण्ड प्रयोग गर्ने साना सवारी साधनहरूको लागि कैचीमोड – धाउन्ने – नाथीगार्ड – धपे मार्ग प्रयोग गर्न हुन ।

 

३.ईलाम , मेची राजमार्ग अबरोध ।

जल तथा मौसम विज्ञान विभाग एवं राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सूचना अनुसार बंगालको खाडीमा विकसित चक्रवत ‘मोन्था’ का कारण कोशी प्रदेशका धेरै स्थानमा अत्यधिक बर्षा भई विपद्जन्य घटना घट्न सक्ने कुरालाई मध्यनजर गर्दै मिति २०८२।०७।१३ गते १९:०० बजे देखि विहान ०६:०० बजेसम्म (रातको समयमा) अर्को सुचना प्रकाशित नभएसम्मको लागी ईलाम जिल्लाभित्रको मेची राजमार्गमा सवारीसाधन सञ्चालनमा रोक लगाईएको जानकारी गराईन्छ ।

 

४.जि.मुस्ताङ वारागुङ मुक्तिक्षेत्र गा.पा.३ जोमसोम कोरोला सडक खण्ड स्थित छुसाङ र ताङवे, बिच कालाभिर स्थित बाटो अवरोध ।

मिति २०८२।०७।१३ गते १७:५० बजेको समयमा जि.मुस्ताङ वारागुङ मुक्तिक्षेत्र गा.पा.३ जोमसोम कोरोला सडक खण्ड स्थित छुसाङ र ताङवे, बिचको कालाभिरमा लेदो सहितको पहिरो आई सडक पुर्ण रुपमा अवरोध भएको ।

 

५.जिल्ला म्याग्दी बेनी न.पा.०४ घुमाउने भिर स्थित बेनी –दरवाङ सडक खण्ड पुर्ण रुपमा अवरोध ।

मिति २०८२।०७।१४ गते अ. ०६;०० बजेको समयमा जिल्ला म्याग्दी बेनी न.पा.०४ घुमाउने भिर स्थित बेनी –दरवाङ सडक खण्डमा सडक माथिबाट लेदो माटो सहितको पहिरो खसी सडक पुर्ण रुपमा अवरोध भएको ।

 

६.जिल्ला काभ्रे बि.पि. राजमार्ग सडक खण्ड विभिन्न स्थानहरु बन्द भएको ।

मिति २०८२/०७।१४ गते अ. ०५:०० बजेको समयमा जिल्ला काभ्रे नमोबुद्ध न.पा ६ चौकिडाडा, रोशी गा.पा. ७,ऐ ४०० बेशी, रोशी गा.पा ११ डालाबेशी रोशि गा.पा ९ बिरुवाडाडा, कोक्सिकुना बिरुवाडाडा , नार्के , स्थित बि.पि. राजमार्ग सडक खण्डमा सडक माथिबाट लेदो र ढुंगा खसी बाटो दुबै तर्फी अबरुद्ध भएको ।

 

७.जिल्ला पाँचथर तुम्वेवा गा.पा.२ र जिल्ला धनकुट्टा चौबिसे गा.पा.४ सिमाना स्थित तमोर-कोरिडोर सडक-खण्ड अबरुद्ध भएको ।

मिति-२०८२।०७।१४ गते राति देखि परेको अविरल बर्षाको कारणले जिल्ला पाँचथर तुम्वेवा गा.पा.२ र जिल्ला धनकुट्टा चौबिसे गा.पा.४ सिमाना भई बग्ने नावाखोलामा पानीको बहाव सहित बाढी आई तत्काल तमोर-कोरिडोर सडक-खण्ड पुर्ण रुपमा अवरोध भएको ।

 

८.जिल्ला ओखलढुङ्गा मानेभञ्ज्याङ गाउँपालिका ०६ र ०७ को सिमाना स्थित सिद्धिचरण लोकमार्ग अबरुद्ध भएको ।

मिति २०८२।०७।१३ गते देखि परेको अबिरल बर्षाको कारण जिल्ला ओखलढुङ्गा मानेभञ्ज्याङ गाउँपालिका ०६ र ०७ को सिमाना स्थित सिद्धिचरण लोकमार्गमा पर्ने भँडारे खोलामा लेदो समेतको बाढी आई सडकको भाग खोलि गहिरो बनाई सडकमा क्षती पुगी लोकमार्ग पुर्ण रुपमा अबरोध भएको ।

 

९. जिल्ला रसुवा पासाङल्हामु सडक खण्डमा विभिन्न स्थानहरु अबरुद्ध ।

मिति २०८२।०७।१४ गते अं.०७:४० बजेको समयमा अबिरल बर्षाको कारण जिल्ला रसुवा गोसाईकुण्ड गा.पा.वडा नं.२ तातोपानि, बालुवाखानि,घट्टेखोला र फ्याङ्लुङ स्थित पासाङ ल्हामु सडक खण्डमा सडक माथीबाट ढुङ्गा सहितको लेदो माटो आई बाटो पुर्ण रुपमा अबरोध भएको ।

 

१०.जिल्ला सिन्धुली गोलन्जोर गा.पा. वडा नं ६ अकरेभिर स्थित मध्य पहाडी लोकमार्ग पूर्ण रुपमा अवरोध ।

मिति २०८२।०७।१४ गते अं ०७;१५ बजेको समयमा जिल्ला सिन्धुली गोलन्जोर गा.पा. वडा नं ६ अकरेभिर स्थित मध्य पहाडी लोकमार्ग सडक खण्डमा राती परेको अबिरल बर्षाको कारण माथिबाट ढुङगा माटो सहितको पहिरो आई बाटो पुर्ण रुपमा अवरोध भएको ।

 

११.जिल्ला पाँचथर याङवरक गा.पा.३ मध्य पहाडी लोकमार्ग अबरोध ।

मिति २०८२।०७।१४ गते अं ०७:४५ बजेको समयमा जिल्ला पाँचथर याङवरक गा.पा.३ स्थित रिजाल भिरमा अविरल बर्षाको कारण पहिरो गई मध्य पहाडी लोकमार्ग पुर्ण रुपमा अवरोध भएको ।

 

१२.जिल्ला रामेछाप खाँडादेवी गा.पा. १ खैरेनीघाट स्थित मध्य पहाडी लोकमार्ग पुर्ण रुपमा अवरुद्ध ।

मिति २०८२/०७/१४ गते अं. ०८:४५ बजेको समयमा जिल्ला रामेछाप खाँडादेवी गा.पा. १ खैरेनीघाट स्थित मध्य पहाडी लोकमार्ग सडकखण्डमा सडक भन्दा माथीबाट पहिरो खसी बाटो पूर्ण रुपमा अवरोध भएको ।

 

१३. जिल्ला चितवन इच्छाकामना गा.पा. ०५ नारायणगढ मुग्लिङ सडक खण्ड पुर्ण रुपमा अवरोध भएको ।

मिति २०८२/०७/१४ गते अ.०८:४० बजेको समयमा जिल्ला चितवन इच्छाकामना गा.पा.५ नारायणगढ मुग्लिङ सडक खण्ड अन्तर्गत तुइन खोला स्थितमा सडक माथीबाट पहिरो खसीबाटो पुर्ण रुपमा अवरोध भएको ।


१४. जि. डोल्पा त्रिपुरासुन्दरी न.पा. ५ खोरबाघ स्थित भेरी करिडोर सडक खण्ड पूर्ण रुपमा अवरोध ।

मिति २०८२।०७। १४ गते ०८:४५ बजेको समयमा जि. डोल्पा त्रिपुरासुन्दरी न.पा. ५ खोरबाघ स्थित भेरी करिडोर सडक खण्डमा सडक भन्दा माथि बाट लेदो सहितको पहिरो आई बाटो पुर्ण रुपमा अबरोध भएको ।

 

१५. जि.मुस्ताङ घरपझोङ गा.पा.४ पाण्डाखोला स्थित जोमसोम- कोरोला सडक पूर्ण रुपमा अवरोध ।

मिति २०८२।०७।१३ गते २०:५० बजेको समयमा जि.मुस्ताङ घरपझोङ गा.पा.४ पाण्डाखोला स्थित जोमसोम- कोरोला सडक खण्डमा लेदो सहितको पहिरो,ढुङगाहरु खसी सडक पुर्ण रुपमा अबरोध भएको ।