मोरङको हरैंचामा भिषण वर्षा, मधेश र कोशीमा आज पनि भारी वर्षा हुने

शनिबार बिहानदेखि मौसममा सुधार हुने सम्भावना

मोन्था चक्रवातको प्रणाली आज कोशी र मधेश प्रदेशमा केन्द्रित हुने छ । त्यसको प्रभावले आज पनि कोशी र मधेशका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान छ ।

काठमाडौं । बंगालको खाडीमा विकसित मोन्था चक्रवातको आंशिक असरले मधेश र कोशी प्रदेशका एक–दुई स्थानमा मध्यमदेखि भारी वर्षा भएको छ । पछिल्लो तीन घण्टामा मोरङको हरैंचामा सबैभन्दा धेरै १०४ मिलिमिटर वर्षा भएको छ ।

यसैगरी सप्तरीको बरमझियामा ५७.४ मिलिमिटर वर्षा मापन भएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार मोन्था चक्रवातको प्रणाली आज कोशी र मधेश प्रदेशमा केन्द्रित हुने छ । त्यसको प्रभावले आज पनि कोशी र मधेशका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान छ ।

साथै काठमाडौं उपत्यकासहित बागमती, गण्डकी, लुम्बिनी प्रदेशमा मध्यम वर्षा र अन्य प्रदेशहरुमा हल्का वर्षा हुने छ । यसैगरी कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी र हिमाली भेगहरुमा हिमपातको समेत सम्भावना छ । भोलि शनिबार बिहानदेखि भने मौसममा सुधार हुने सम्भावना रहेको मौसमविदको भनाइ छ ।