सार्वजनिक ऋण दायित्व २७ खर्ब २४ अर्ब पुग्यो, ३ महिनामा थपियो साढे ५० अर्ब

कुल सार्वजनिक ऋणमा असोजसम्ममा वैदेशिक ऋणको हिस्सा ५३.९ प्रतिशत तथा आन्तरिक ऋणको हिस्सा ४६.९१ प्रतिशत रहेको छ ।

काठमाडौँ । सार्वजनिक ऋण दायित्व २७ खर्ब २४ अर्ब ६५ करोड रुपैयाँ पुगेको छ । 

सार्वजनिक ऋण व्यवस्थापनको कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको सुरुमा कुल सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब ०४ करोड रहेकोमा असोजसम्ममा ५० अर्ब ६० करोड थप वृद्धि भएको हो ।

असोजसम्मको कुल सार्वजनिक ऋण दायित्व गत आर्थिक आर्थिक वर्षको कुल गार्हस्थ उत्पादन (जीडीपी) को ४४. ६१ प्रतिशत हुन आउँछ ।

कुल सार्वजनिक ऋणमा असोजसम्ममा वैदेशिक ऋणको हिस्सा ५३.९ प्रतिशत तथा आन्तरिक ऋणको हिस्सा ४६.९१ प्रतिशत रहेको छ । 

ऋण व्यवस्थापनको कार्यालयकाअनुसार चालु आर्थिक वर्षमा जम्मा ५ खर्ब ९५ अर्ब रुपैयाँ सार्वजनिक ऋण परिचालन गर्न लक्ष्य राखिएकामा असोजसम्म १ खर्ब ८४ करोड रुपैयाँ ऋण प्राप्ति भएको छ जुन वार्षिक लक्ष्यको तुलनामा १६.९३ प्रतिशत हो । जसमध्ये वाह्य ऋण प्राप्तिको प्रगति २४.८६ प्रतिशत र आन्तरिक ऋण प्राप्तिको प्रगति ४.६४ प्रतिशत छ ।

चालु आर्थिक वर्ष २०८२/८३ मा ऋण सेवा खर्चमा ४ खर्ब ११ अर्ब १ करोड बजेट विनियोजन भएकोमा असोजसम्ममा १ खर्ब ९ अर्ब ८९ करोड भुक्तानी भएको कार्यालयले जानकारी दिएको छ ।

यो वार्षिक बजेट विनियोजनको आधारमा २६.७४ प्रतिशत हो । जीडीपीको आधारमा असोजसम्ममा कुल ऋण सेवा खर्च १.८० प्रतिशत छ ।