विश्वकप लिग-२ : आज यूएईसँग खेल्दै नेपाल, जित्नै पर्ने दबाब
यूएईसँग नेपालले हालसम्म १५ पटक ओडिआईमा खेलेको छ । नेपाल ९ खेलमा विजयी हुँदा यूएईले ६ खेल जितेको छ ।
काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग २ अन्तर्गत यूएईमा जारी ओडिआई शृंखलाको आफ्नो दोस्रो खेलमा नेपालले आज यूएईसँग खेल्दै छ ।
दुबईस्थित आईसीसी एकेडेमीमा हुने खेल नेपाली समय अनुसार विहान सवा ११ बजेदेखि सुरु हुनेछ ।
जारी शृंखलामा दुवै टोली आफ्नो पहिलो खेलमा अमेरिकासँग पराजित भएका थिए । लिग–२ अन्तर्गत यूएई सिरिजको पहिलो खेलमा अमेरिकासँग पराजित भएको नेपालका लागि आजको खेल जित्नै पर्ने दबाब छ । लिग–२ शृङ्खलामा नेपाल र आयोजक संयुक्त युएईलाई हराएपछि अमेरिका तालिकाको शीर्षस्थानमा छ ।
यूएईसँग नेपालले हालसम्म १५ पटक ओडिआईमा खेलेको छ । नेपाल ९ खेलमा विजयी हुँदा यूएईले ६ खेल जितेको छ । नेपालले युएईपछि शृङ्खलाको अर्को खेल कात्तिक १५ गते शनिबार अमेरिकासँग र अन्तिम खेल कात्तिक १९ गते बुधबार युएईसँग खेल्नेछ ।
विश्वकप लिग–२ मा १७ खेल खेलेको नेपालले १२ अङ्क जोडेको छ। समान खेल खेलेको युएईको ६ अंक छ। तालिकामा नेपाल सातौं स्थानमा छ भने युएई आठौं स्थानमा छ। २२ खेल खेलिसकेको अमेरिका ३२ अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ।