विश्व बाघ दिवस : बाघको संख्या बढेसँगै संरक्षणमा चुनौती
काठमाडौँ – पाटेबाघ संरक्षणको महत्त्वबारे जनचेतना फैलाउन हरेक वर्ष जुलाई २९ मा ‘विश्व बाघ दिवस’ मनाइन्छ । सन् २०१० मा रुसको सेन्टपिटर्सवर्गमा आयोजित अन्तर्राष्ट्रिय बाघ मञ्चले यो दिवस मनाउने घोषणा गरेसँगै नेपालमा पनि वन तथा वातावरण मन्त्रालयले विभिन्न कार्यक्रम गर्दै आएको छ ।
सन् २०२२ मा गरिएको पछिल्लो राष्ट्रिय बाघ गणनाअनुसार नेपालमा बाघको सङ्ख्या ३५५ पुगेको छ। सन् २००९ मा १२१ रहेको बाघको सङ्ख्यालाई २०२२ सम्ममा दोब्बर बनाउने अन्तर्राष्ट्रिय प्रतिबद्धता नेपालले पूरा गर्दै झन्डै तेब्बर पुर्याएको छ ।
बाघको सङ्ख्यामा उल्लेख्य वृद्धि भएसँगै यिनको व्यवस्थापन, मानव–बाघ द्वन्द्व, बासस्थान र चोरीसिकारीलगायतका चुनौतीहरू पनि बढेका छन् । मध्यवर्ती क्षेत्रका स्थानीयहरू घाँस दाउरा र गाईभैँसी चराउन जाँदा बाघको आक्रमणमा पर्ने गरेका छन् ।
नेपालमा बाघको सङ्ख्याको ‘धान्ने क्षमता’ )क्यारिङ क्यापासिटी) बारे बहस सुरु भएको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटिएनसी), विश्ववन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपाल र जिओलोजीकल सोसाइटी अफ लण्डन (जेडएसएल) लगायतका संस्थाहरूले यस विषयमा अध्ययन गरिरहेका छन् ।
पाटेबाघ विश्वका १३ देशमा पाइन्छन्। सन् २०२५ को पछिल्लो तथ्याङ्कअनुसार विश्वमा बाघको सङ्ख्या बढेर ५ हजार ३५७ पुगेको छ, जसमध्ये भारतमा सबैभन्दा बढी ३ हजार १६७ बाघ छन्।
बाघको सङ्ख्या वृद्धि भएसँगै मानव बस्तीमा पसेका, मानव वा घरपालुवा जनावरलाई आक्रमण गरेका र घाइते अवस्थामा भेटिएका समस्याग्रस्त बाघको सङ्ख्या पनि बढेको छ।
हाल मुलुकभर १८ वटा यस्ता बाघलाई खोरमा राखिएको छ- जावलाखेल चिडियाखानामा ५, चितवनमा ७, बर्दियामा ४, बाँके र पर्सामा १/१ । यस्ता बाघको व्यवस्थापनमा ठूलो रकम खर्च हुने गरेको छ । यसका लागि ‘टाइगर जु’ स्थापना गर्ने, मित्रराष्ट्रलाई उपहार दिने वा प्रदेशमा रहेका प्राणी उद्यानमा व्यवस्थापन गर्ने जस्ता विकल्पमाथि बहस सुरु भएको छ ।
समग्रमा, नेपालले बाघ संरक्षणमा महत्त्वपूर्ण सफलता हासिल गरे पनि मानव–बाघ द्वन्द्व र बासस्थानको गुणस्तरीयता कायम राख्न थप सामूहिक प्रयासको आवश्यकता देखिएको छ।