कमजोर मनोबलले संकुचित बनिरहेको सेयर बजार, सुधारिएको वित्तीय विवरणले सकारात्मक प्रभाव पार्ला ?

विज्ञापन
ncell

काठमाडौं । बैंक तथा वित्तीय संस्थासहित अधिकांश सूचीकृत कम्पनीहरूको वित्तीय अवस्था सुधारोन्मुख देखिए पनि त्यसको सकारात्मक प्रभाव नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा पर्न सकेको छैन । कम्पनीहरूको नाफा बढेको, बैंकिङ प्रणालीमा पर्याप्त तरलता रहेको, ब्याजदर न्यून रहेको र पुँजी बजारसम्बन्धी नीतिहरू तुलनात्मक रूपमा खुकुलो बने पनि लगानीकर्तामा अपेक्षित उत्साह देखिन सकेको छैन ।

गत आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक हुने क्रम तीव्र छ । हालसम्म सार्वजनिक विवरणअनुसार अधिकांश बैंक तथा वित्तीय संस्थाको नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा बढेको छ । अन्य क्षेत्रका कम्पनीहरूको वित्तीय अवस्था पनि समग्रमा निराशाजनक छैन ।

तर, वित्तीय विवरणमा देखिएको सुधारअनुसार सेयर बजारमा खरिद माग सिर्जना हुन सकेको छैन । कम्पनीको वित्तीय स्वास्थ्य र बजारको चालबीच देखिएको यो अन्तरले अहिलेको बजारको मुख्य समस्या कम्पनीको आधारभूत अवस्था नभई लगानीकर्ताको मनोविज्ञान र कमजोर माग रहेको देखाउँछ ।

त्यसमाथि धितोपत्र दलाल व्यवसायी (ब्रोकर) हरूले लगानीकर्तालाई प्रत्यक्ष रूपमा मार्जिन ट्रेडिङ सुविधा दिन थालेका छन् । यसले बैंक तथा वित्तीय संस्थामार्फत मार्जिन सुविधा लिनुपर्ने प्रक्रियालाई केही सहज बनाउने अपेक्षा गरिएको छ । बजारमा लगानीका लागि वित्तीय स्रोतको पहुँच विस्तार भइरहे पनि त्यसअनुसार लगानीकर्ताको सहभागिता भने बढ्न सकेको छैन ।

पछिल्लो समय बजारमा देखिएको कमजोरीलाई राजनीतिक तथा नीतिगत वातावरणका साथै सरकारप्रतिको लगानीकर्ताको विश्वाससँग पनि जोडेर हेर्न थालिएको छ । नयाँ सरकार गठनपछि लगानीकर्ताले स्थायित्व र सुधारको अपेक्षा गरेका थिए । तर, अत्यावश्यक वस्तुको आपूर्ति तथा बजारमा बेलाबेला देखिने अभावले सरकारको व्यवस्थापन क्षमताप्रति प्रश्न उठाएको छ ।

यसले नयाँ सरकारप्रति निर्माण हुँदै गएको विश्वासमा समेत असर पारिरहेको लगानीकर्ताहरूको बुझाइ छ । अर्थतन्त्र र पुँजी बजारमा विश्वासको भूमिका महत्त्वपूर्ण हुने भएकाले यस्ता घटनाले प्रत्यक्ष रूपमा सेयर खरिदको निर्णयलाई प्रभावित गर्न सक्छन् । बजारका आधारभूत सूचक सकारात्मक हुँदाहुँदै पनि लगानीकर्ताले जोखिम लिन हिचकिचाउनुको एउटा कारण यही मनोवैज्ञानिक पक्ष बनेको देखिन्छ ।

नेप्से परिसूचकमा आएको दबाबसँगै दैनिक कारोबार रकमसमेत खुम्चिँदै गएको छ । पछिल्ला दिनहरूमा दैनिक कारोबार रकम करिब ३ अर्बदेखि ४ अर्ब ६० करोड रुपैयाँको हाराहारीमा सीमित छ । बुलिस बजारका बेला दैनिक कारोबार ८ देखि १० अर्ब रुपैयाँ वा सोभन्दा माथि पुग्ने गरेको तुलनामा अहिलेको कारोबार निकै कमजोर हो ।

न्यून कारोबारका बीच सूचकमा गिरावट आउनुले बजारमा नयाँ पैसा प्रवेश गर्न नसकेको र विद्यमान लगानीकर्तासमेत खरिदमा आक्रामक हुन नसकेको सङ्केत गर्छ । कारोबार रकममा आएको संकुचनले लगानीकर्ताको सक्रियता र विश्वास दुवै कमजोर भएको देखाउँछ । कम्पनीहरूको वित्तीय विवरण राम्रो आउँदा पनि त्यसलाई आधार बनाएर खरिदतर्फ आकर्षित हुने वातावरण बन्न नसक्नु अहिलेको बजारको प्रमुख चुनौती हो ।

पाँच कारोबार दिनमा दुई दिन घट्यो बजार

यो साता नेप्सेमा पाँच कारोबार दिनमध्ये दुई दिन बजार घट्यो भने तीन दिन सामान्य सुधार देखियो । साताको पहिलो कारोबार दिन साउन २५ गते नेप्से ९.०२ अङ्कले घटेको थियो । त्यसपछि साउन २६, २७ र २८ गते लगातार तीन कारोबार दिन बजार सामान्य सुधारतर्फ गयो । तीन दिनमा नेप्से कुल १०.१५ अङ्कले बढे पनि साताको अन्तिम कारोबार दिन साउन २९ गते पुनः ७.३७ अङ्कले घट्यो । यसले साताभर देखिएको सामान्य सुधारलाई बलियो अपट्रेन्डमा रूपान्तरण हुन दिएन । यस्तो अवस्थामा बजारको आगामी दिशा कम्पनीहरूको वित्तीय विवरणले मात्र निर्धारण गर्ने देखिँदैन । नयाँ पैसाको प्रवेश, कारोबार रकममा वृद्धि, खरिद मागको विस्तार र लगानीकर्ताको मनोविज्ञानमा आउने परिवर्तन बढी निर्णायक हुने देखिन्छ ।

‘आत्मविश्वास फर्किए बजारले गति लिन्छ’

नेपाल इन्भेस्टर फोरमका अध्यक्ष तुलसीराम ढकालका अनुसार अहिले पुँजी बजारमा देखिएको मुख्य समस्या लगानीकर्ताको आत्मविश्वास हो । ढकालले बैंक तथा वित्तीय संस्थाहरूको नाफा करिब ३२ प्रतिशतले बढेर ७० अर्ब रुपैयाँभन्दा माथि पुगेको, बैंकिङ प्रणालीमा १५ खर्ब रुपैयाँभन्दा बढी लगानीयोग्य रकम रहेको तथा कर्जाको ब्याजदर साढे ५ देखि ६ प्रतिशतको हाराहारीमा झरेको अवस्थामा पनि बजारमा अपेक्षित उत्साह नआएको बताए ।

उनका अनुसार विगतको राजनीतिक अस्थिरताको तुलनामा अहिले करिब दुई तिहाइको सरकार रहेकाले नीतिगत स्थायित्वको अवस्था बलियो छ । पुँजी बजारमा २०७८ सालदेखि लगाइएका विभिन्न अङ्कुशसमेत अधिकांश हटिसकेको उनले बताए ।

“अहिले पुँजी बजारका लागि नीतिगत सुधारहरू भएका छन् । बजेटमार्फत पनि प्रशस्तै सुधार गरिएको छ,” ढकालले भने, “पुँजीगत लाभकरलाई अन्तिम करका रूपमा व्यवस्था गर्ने माग पनि सम्बोधन भएको छ ।”

धितोपत्र बोर्डको नेतृत्वले पुँजी बजार विस्तारका लागि दीर्घकालीन लक्ष्य अघि सारेको उल्लेख गर्दै ढकालले सरकार र नियामक निकायबाट सकारात्मक पहल भइरहेको बताए । उनले लगानीकर्ताले बजारबाट बाहिरिनेभन्दा पनि वित्तीय रूपमा सबल र सम्भावना भएका कम्पनी छनोट गरेर लगानी गर्ने विषयमा सोच्नुपर्ने बताए ।

“अहिले पुँजी बजारमा प्रवेश गर्ने अति उपयुक्त समय हो जस्तो लाग्छ,” उनले भने, “लगानीकर्ताले पनि सोचविचार गरेर राम्रा कम्पनी छनोट गरी लगानी गर्नुपर्छ ।”

ढकालका अनुसार वर्तमान सरकार गठन हुँदा नेप्सेले करिब २६ सयबाट २८–२९ सयको तहसम्मको यात्रा गरेको थियो । तर, त्यसपछि बजारले गति कायम गर्न नसक्नुको मुख्य कारण लगानीकर्ताको विश्वास कमजोर हुनु रहेको उनको विश्लेषण छ । प्रधानमन्त्री र अर्थमन्त्रीले लगानीकर्ता तथा निजी क्षेत्रसँग छलफल गरिरहेको र अर्थमन्त्री स्वयं धितोपत्र बोर्डसम्म पुगेर पुँजी बजारका विषयमा चासो देखाएकाले सरकारको पहललाई सकारात्मक रूपमा लिनुपर्ने उनले बताए ।

“पुँजी बजारलाई आर्थिक मेरुदण्डका रूपमा लिएर अगाडि बढ्न सरकार अग्रसर देखिएको छ,” ढकालले भने, “अब लगानीकर्ता, सञ्चारकर्मी, उद्योगी तथा व्यवसायी सबैले सोचेर सरकारलाई साथ दिने बेला आएको छ ।”

पुँजी बजार विश्लेषक देव गुरागाईं भने अहिलेको बजारको कमजोरीलाई मुख्यतः लगानीकर्ताको मनोवैज्ञानिक अवस्थासँग जोड्छन् । उनका अनुसार कम्पनीहरूको वित्तीय अवस्था, बैंकिङ प्रणालीको तरलता र ब्याजदर हेर्दा बजार बढ्नुपर्ने आधार पर्याप्त छन् । गुरागाईंले साउन र भदौलाई विगतमा पनि सेयर बजारमा तीव्र वृद्धि देखिने समयका रूपमा लिइने गरेको बताए ।

विगतमा नेप्सेले ३ हजार तथा ३२ सयभन्दा माथिको उचाइ हासिल गर्दा पनि यही अवधिको महत्त्वपूर्ण भूमिका रहेको उनको भनाइ छ । “अहिले कम्पनीहरूको वित्तीय विवरण हेर्दा अवस्था राम्रै देखिएको छ, नाफा बढिरहेको छ । तर लगानीकर्ताको मनोविज्ञानका कारण बजार बढ्न सकेको छैन,” उनले भने ।

उनका अनुसार अहिले बजारलाई रोक्ने गरी सरकारबाट कडा नीतिगत हस्तक्षेप छैन । तर, नयाँ सरकार गठनका क्रममा भएका घटनाक्रमले लगानीकर्ताको मनोविज्ञानमा परेको प्रभाव अझै हट्न सकेको छैन । “अगुल्टाले हानेको कुकुर बिजुली चम्किँदा तर्सिन्छ भनेजस्तै भएको छ,” गुरागाईंले भने, “अगुल्टो सेलाएर खरानी भइसकेको छ, तर बिजुली चम्किँदा तर्सिने मनोवैज्ञानिक प्रभाव अझै लगानीकर्तामा छ ।”

गुरागाईंका अनुसार अहिलेको अवस्थामा तरलता वा ब्याजदरलाई बजार नबढ्नुको मुख्य कारण मान्न सकिँदैन । लामो समयदेखि बैंकिङ प्रणालीमा पर्याप्त तरलता र न्यून ब्याजदर रहेको भन्दै उनले अहिले मुख्य समस्या माग सिर्जना हुन नसक्नु रहेको बताए ।

गुरागाईंले बजारलाई नयाँ अपट्रेन्ड,मा लैजान सरकारले माग सिर्जना गर्ने क्षेत्रमा तीव्रता दिनुपर्ने बताए । विशेषगरी गैरआवासीय नेपाली (एनआरएन) तथा विदेशी लगानीलाई सहज रूपमा प्रवेश गराउने वातावरण बने बजारमा नयाँ माग सिर्जना हुन सक्ने उनको भनाइ छ । “डिमान्ड साइड सिर्जना हुने काम राज्यले गर्नुपर्छ । एनआरएन र विदेशी लगानीलाई सहज रूपमा अगाडि बढाउन सके बजारमा माग सिर्जना हुन्छ र बजारले गति लिन सक्छ,” उनले भने । आगामी भदौमा बजारले गति लिनेमा आफू आशावादी रहेको गुरागाईंले बताए । कम्पनीहरूको साधारण सभा र लाभांश वितरणको समय नजिकिँदै जाँदा लगानीकर्ताले लाभांश ुक्याप्चरु गर्न सेयर खरिद बढाउन सक्ने उनको अनुमान छ ।

अब वित्तीय विवरणभन्दा ‘विश्वास’ निर्णायक

समग्रमा हेर्दा अहिलेको सेयर बजारमा आधारभूत र मनोवैज्ञानिक पक्षबीच स्पष्ट अन्तर देखिएको छ । कम्पनीहरूको नाफा बढिरहेको छ, खराब कर्जा घटिरहेको छ, ब्याजदर न्यून छ, बैंकिङ प्रणालीमा पर्याप्त तरलता छ र पुँजी बजारसम्बन्धी नीतिहरू तुलनात्मक रूपमा खुकुला छन् । तर, यी सबै सकारात्मक आधारले बजारमा खरिद माग सिर्जना गर्न सकेका छैनन् ।

अत्यावश्यक वस्तुको अभाव, सरकारप्रतिको कमजोर हुँदै गएको विश्वास, विगतका नीतिगत अनुभव र नयाँ लगानीकर्ताको जोखिम लिन हिचकिचाउने प्रवृत्तिले बजारको मनोविज्ञान कमजोर बनाएको देखिन्छ ।

त्यसैले अब नेप्सेको दिशा कम्पनीहरूको वित्तीय विवरणले मात्र तय गर्ने छैन । कारोबार रकम बढ्छ कि बढ्दैन, नयाँ पैसा बजारमा प्रवेश गर्छ कि गर्दैन, लगानीकर्ताको सरकार र बजारप्रतिको विश्वास फर्किन्छ कि फर्किँदैन र खरिद माग विस्तार हुन्छ कि हुँदैन-यी चार पक्ष आगामी दिनमा बजारको वास्तविक दिशा निर्धारण गर्न बढी निर्णायक हुने देखिन्छन् ।

यदि भदौमा समेत वित्तीय विवरण र लाभांशको अपेक्षाबीच बजारले गति लिन सकेन भने बजारको कमजोरीलाई केवल ‘मनोवैज्ञानिक’ भनेर व्याख्या गर्नु पर्याप्त हुने छैन । त्यस अवस्थामा बजारमा नयाँ माग किन सिर्जना हुन सकेन भन्ने विषयमा थप गम्भीर समीक्षा आवश्यक हुनेछ ।