रसुवा बाढीपीडितका लागि काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर, मानसिक र भावनात्मक असर देखियो

विज्ञापन
ncell

शान्ति सेवा गृहको आयोजनामा सञ्चालन गरिएको शिविरमा बाढीका कारण विस्थापित बालबालिका, महिला तथा ज्येष्ठ नागरिकसहित प्रभावित नागरिकको स्वास्थ्य परीक्षण तथा मनोसामाजिक परामर्श प्रदान गरिएको छ ।

काठमाडौं । रसुवाको भोटेकोशीमा गत भदौ १० गते आएको बाढीबाट प्रभावित नागरिकका लागि काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । शान्ति सेवा गृहको आयोजनामा सञ्चालन गरिएको शिविरमा बाढीका कारण विस्थापित बालबालिका, महिला तथा ज्येष्ठ नागरिकसहित प्रभावित नागरिकको स्वास्थ्य परीक्षण तथा मनोसामाजिक परामर्श प्रदान गरिएको छ ।

शान्ति सेवा गृहका उत्तम निरौलाले बाढीका कारण घर तथा थातथलो छाडेर काठमाडौंमा बस्न बाध्य भएका परिवारको स्वास्थ्य अवस्था पहिचान गर्न शिविर सञ्चालन गरिएको बताए। उनका अनुसार शिविरमा सामान्य स्वास्थ्य परीक्षणसँगै स्त्रीरोग, बालरोग, आँखा, दाँत तथा प्रयोगशाला परीक्षणको समेत व्यवस्था गरिएको छ ।

उपचारपछि थप स्वास्थ्य सेवा आवश्यक पर्ने बिरामीलाई फलोअप, औषधि तथा आवश्यकताअनुसार अस्पतालसम्मको सेवा निःशुल्क उपलब्ध गराइने उनले बताए। गम्भीर बिरामीलाई शान्ति सेवा गृहसँग सम्बन्धित अस्पताल वा आवश्यकताअनुसार अन्य अस्पतालमा समेत उपचारका लागि पठाइने उनले बताए । साथै, बाढी प्रभावित परिवारका बालबालिकाको शिक्षामा समेत सहयोग गरिने उनले बताए ।

शिविरमा एक सयभन्दा बढी बालबालिकाको स्वास्थ्य परीक्षण गरिएको छ । अधिकांश बालबालिकामा रुघाखोकी, ज्वरो, कान पाक्ने तथा झाडापखालाजस्ता समस्या देखिएको बालरोग विशेषज्ञ डा. कौशलले बताए। उनका अनुसार करिब १५ देखि २० जना बालबालिकामा मनोवैज्ञानिक त्राससमेत देखिएको छ । उनीहरूलाई मानसिक स्वास्थ्य विशेषज्ञकहाँ रिफर गरिएको उनले जानकारी दिए ।

आत्मन हस्पिटल एण्ड हिलिङ सेन्टरकी निर्देशक तथा साइकोथेरापिस्ट साधना थापाले बाढी प्रभावितमा मानसिक तथा भावनात्मक असर देखिएको बताइन् । बाढीका कारण परिवारका सदस्य गुमाउनुका साथै घर, जग्गा, खेती तथा सम्पत्ति गुमाएका कारण अधिकांश प्रभावितमा मानसिक असर परेको उनले बताइन् ।

उनका अनुसार बालबालिकामा पुनः बाढी आउने डर, राति झस्किने, असुरक्षित महसुस गर्ने तथा ‘अब कहाँ जाने’ भन्ने अन्योल देखिएको छ । यस्तो अवस्थामा व्यक्तिगत मनोचिकित्सा तथा समूहगत रूपमा शोक व्यवस्थापन र मनोसामाजिक सहयोग आवश्यक रहेको उनले बताइन् ।

रसुवाको उत्तरगया गाउँपालिका–५ बेत्रावतीका शिव लामिछानेले बाढी प्रभावितका लागि स्वास्थ्य शिविर सञ्चालन गरेर शान्ति सेवा गृहले महत्वपूर्ण सहयोग गरेको बताए । उनले बाढीपीडितको स्वास्थ्य, शिक्षा र मनोसामाजिक अवस्थाका विषयमा राज्यले थप व्यवस्थित रूपमा काम गर्नुपर्ने बताए ।

बाढी गएको करिब एक महिना बितिसक्दा पनि विस्थापित परिवारको दीर्घकालीन पुनस्र्थापना, शिक्षा, स्वास्थ्य तथा रोजगारीका विषयमा पर्याप्त काम हुन नसकेको उनको गुनासो छ । राहत सामग्री वितरण भइरहे पनि प्रभावित परिवारमा भविष्यप्रति विश्वास र आत्मविश्वास जगाउने कार्यक्रम आवश्यक रहेको उनले बताए ।

काठमाडौंमा बसिरहेका प्रभावित परिवारले घरभाडा, बालबालिकाको शिक्षा तथा दैनिक जीविकोपार्जनमा समस्या भोगिरहेको उनले बताए । स्थानीय क्षेत्रमा तत्काल पुनस्र्थापना सम्भव नभएका कारण रोजगारी र शिक्षाका लागि काठमाडौं आएका परिवारका लागि सरकारले अन्तरिम व्यवस्थापन गर्नुपर्ने उनको भनाइ छ ।

रसुवाका विकास लामाले एकै वडाका मात्रै करिब २०० घरधुरी काठमाडौंमा रहेको बताए। बाढीपछि थप करिब १०० देखि १५० घरधुरी काठमाडौं आएको उनले जानकारी दिए । बाढीका कारण कृषि, व्यवसाय तथा रोजगारीका आधार नष्ट भएपछि बालबालिकाको पढाइ तथा परिवारको दैनिक खर्च व्यवस्थापनमा समस्या परेको उनले बताए ।

प्रभावित परिवारका लागि तत्कालीन राहतसँगै दीर्घकालीन आयआर्जन तथा पुनस्र्थापनाको योजना आवश्यक रहेको उनले बताए ।

नुवाकोटको विदुर–१० बेत्रावतीका पवन डंगोलले बाढीका कारण आफ्नो परिवारको आर्थिक अवस्था तथा आवासमा ठूलो क्षति पुगेको बताए। तत्कालै आफ्नो क्षेत्रमा फर्केर बस्ने अवस्था नरहेकाले बालबालिकाको शिक्षा तथा परिवारको आधारभूत आवश्यकताका लागि काठमाडौंमै बस्नुपर्ने अवस्था रहेको उनले बताए ।

उनले बेत्रावती क्षेत्रमा स्थायी पुनस्र्थापना चुनौतीपूर्ण देखिएको बताए। तत्कालका लागि अस्थायी पुनस्र्थापना सम्भव भए पनि भविष्यमा जोखिम मूल्याङ्कन गरेर स्थायी बस्तीका विषयमा निर्णय गर्नुपर्ने अवस्था रहेको उनले बताए ।

शान्ति सेवा गृहले सञ्चालन गरेको शिविरमा स्वास्थ्य परीक्षणसँगै प्रभावित परिवारको आवश्यकता पहिचान गरी शिक्षा, आवास, औषधि, मनोसामाजिक सहयोग तथा जीविकोपार्जनका क्षेत्रमा आवश्यकताअनुसार सहयोग गर्ने जनाएको छ ।

संस्थाका अनुसार हाल रसुवा र नुवाकोटका करिब २५० परिवार सम्पर्कमा छन् । थप प्रभावित परिवारले समेत संस्थासँग सम्पर्क गर्न सक्नेछन् । शिविरमा सहभागी परिवारको स्वास्थ्य तथा अन्य आवश्यकताको विवरणसमेत संकलन भइरहेको संस्थाले जनाएको छ ।

संस्थाले अभिभावक दुवै गुमाएका बालबालिकालाई आश्रममा राखी कक्षा १२ सम्मको शिक्षा तथा हेरचाहको जिम्मेवारी लिने जनाएको छ । परिवारका सदस्यसँगै बस्न सक्ने बालबालिकालाई विद्यालय शुल्क तथा अन्य आवश्यक सहयोग उपलब्ध गराइने संस्थाले जनाएको छ ।

त्यस्तै, बाढी प्रभावित परिवारको जीविकोपार्जनका लागि सिलाइ–बुनाइ, मेकानिक्स, कुखुरापालनलगायत पेसाअनुसार आवश्यक सामग्री उपलब्ध गराउने तयारीसमेत गरिएको संस्थाले जनाएको छ ।