कमजोर बन्दै न्यूनचापीय प्रणाली, सुदूरपश्चिममा जोखिम घट्दै

विज्ञापन
ncell

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका अधिकांश क्षेत्रमा वर्षा भइरहे पनि पछिल्लो समय ठूलो जोखिमको सम्भावना घट्दै गएको छ।

अत्तरियास्थित नेपाल मौसम विज्ञान फिल्ड कार्यालयका अनुसार बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको प्रभाव क्रमशः कमजोर हुँदै गएकाले वर्षासँगैको जोखिम पनि कम हुँदै गएको हो।

असोज ९ गतेदेखि लगातार वर्षा हुँदा जनजीवन प्रभावित भए पनि आज दिउँसोदेखि प्रणाली कमजोर बन्दै गएकाले ठूलो जोखिम नरहेको कार्यालय प्रमुख इन्जिनियर सञ्जयकुमार साहले जानकारी दिए । यद्यपि, सावधानी अपनाउन भने आवश्यक रहेको उनको भनाइ छ।

मौसम पूर्वानुमानअनुसार आज दिउँसो सुदूरपश्चिमका हिमाली, पहाडी तथा तराई क्षेत्रमा सामान्य बदली रही धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। तराईका एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

आज रातिदेखि भने प्रदेशका केही स्थानमा मात्र मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ। आगामी बुधबार अधिकांश क्षेत्रमा मौसम आंशिक बदली रहने र केही स्थानमा मध्यम वर्षा हुन सक्ने जनाइएको छ। बुधबार राति तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ।