किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले किसानलाई धान नकाट्न आग्रह गरेको छ । देशका विभिन्न भागमा जारी अविरल वर्षाका कारण बाढी र पहिरोको जोखिम बढेपछि जल तथा मौसम विज्ञान विभागले विशेष शतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको हो । विभागका मौसमविद् रोजन लामिछानेले मौसममा सुधार नआएसम्म किसानलाई धान नकाट्न र नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च शतर्कता अपनाउन सुझाव दिए ।
मौसमविद् लामिछानेले हालको प्रतिकूल मौसममा हतार गर्दा बाली र जनधनको क्षति हुनसक्ने भएकाले मौसम खुलेपछि मात्र धान काट्ने योजना बनाउन किसानलाई आग्रह गरे । उनले विशेष गरी जमिन चिरा परेको वा सानो पहिरो देखिएको क्षेत्रमा जोखिम उच्च हुने भन्दै त्यस्ता स्थानका बासिन्दालाई तुरुन्त सुरक्षित स्थानमा सर्न र छिमेकीलाई समेत सचेत गराउन अनुरोध गरे । यस्तै, नदी तथा खोला किनारमा बसोवास गर्ने समुदायलाई जलसतह बढ्दा थप सजग रहन भनिएको छ ।
स्थानीय प्रशासन र प्रहरीले गर्ने माइकिङ तथा साइरनलाई बेवास्ता नगर्न विभागले जोड दिएको छ । विपद्को समयमा सूचनाको पहुँच महत्वपूर्ण हुने भएकाले सर्वसाधारणलाई मौसमसम्बन्धी पछिल्लो अपडेट नियमित रूपमा हेर्न र कुनैपनि जिज्ञासा वा सूचनाका लागि विभागको टोल फ्री नम्बर ११५५ मा सम्पर्क गर्न आग्रह गरिएको छ ।
