उर्लिए खोलानाला : काठमाडौंमा कहाँ के छ अवस्था ?

विज्ञापन
ncell

काठमाडौं । निरन्तरको वर्षाका कारण काठमाडौं उपत्यकाभित्र बग्ने प्रमुख खोला तथा नदीमा पानीको बहाव बढेको छ । बागमती, विष्णुमती, हनुमन्ते, मनहरा, बल्खुलगायतका नदी तथा खोलामा जलसतह बढेपछि उपत्यकाका नदी किनार र तटीय क्षेत्रमा जोखिम बढेको छ ।

जलसतह सतर्कता तह पार गरेपछि सुरक्षा निकाय, प्रशासन र स्थानीय तहले सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् । प्रहरीले जोखिमयुक्त तथा तटीय क्षेत्रमा निगरानी बढाएको जनाएको छ ।

लगातारको वर्षापछि बल्खु खोलामा कटान बढ्दा एक घर जोखिममा परेको छ । काठमाडौं प्रहरी प्रवक्ता एसपी दानबहादुर थापाका अनुसार प्रहरी वृत्त कालिमाटी र काठमाडौं महानगरपालिकाको संयुक्त प्रयासमा उक्त घरमा डेरा गरी बस्ने ६ परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । काठमाडौं महानगरपालिकाले उनीहरूलाई सुरक्षित स्थानमा व्यवस्थापन गरेको हो ।

यस्तै, हनुमन्ते खोलामा पनि पानीको बहाव बढेपछि लोकन्थलीको तल्लो क्षेत्रमा जोखिम बढेको छ । प्रहरीले त्यहाँ रहेका १६ जनाको उद्धार गरी सुरक्षित स्थानमा लगेको जनाएको छ ।

नदी करिडोरमा आवागमन प्रभावित

काठमाडौं उपत्यकाका विभिन्न नदी करिडोरमा जलसतह बढेपछि यातायात तथा पैदल आवतजावतमा समेत असर परेको छ । कतिपय स्थानमा पानी सडकको छेउसम्म पुगेपछि आवागमन नियन्त्रण गर्नुपर्ने अवस्था आएको प्रहरीले जनाएको छ ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी नरेशराज सुवेदीका अनुसार नदी करिडोर क्षेत्रमा सबै प्रकारका सवारी साधन पार्किङ गर्न निषेध गरिएको छ । करिडोर सडकमा जलसतह क्रमशः मूल सडकको छेउछाउसम्म पुगेकाले आवश्यकताअनुसार सवारी आवागमनसमेत नियन्त्रण गर्नुपर्ने अवस्था रहेको उनले बताए ।

वर्षाका कारण काठमाडौं उपत्यकाबाट बाहिरिने सवारी साधनलाई थानकोटमा होल्ड गरिएको छ । बल्खु क्षेत्रमा समेत मालबाहक ट्रक रोकिएका छन् ।

च्यासलदेखि बागमती किनारसम्म निरीक्षण

यसैबीच गृहमन्त्री सुधन गुरुङले च्यासल पुगेर बाढी तथा नदीको अवस्थाबारे स्थलगत निरीक्षण गरेका छन् । काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले पनि बागमती नदी किनार क्षेत्रको निरीक्षण गरेका छन् ।

निरीक्षणका क्रममा पौडेलले नदीको बहाव, नदी किनारको अवस्था तथा सम्भावित जोखिमयुक्त क्षेत्रबारे जानकारी लिएका थिए । नदी आसपासका बस्ती तथा संरचनामा हुनसक्ने जोखिम र आवश्यक सुरक्षा व्यवस्थाबारे सुरक्षा निकायसँग समेत छलफल गरिएको छ ।

चोभारमा पनि बढ्यो पानीको बहाव

उपत्यकाबाट पानी बाहिरिने मुख्य निकासका रूपमा रहेको चोभार गल्छीमा समेत पानीको बहाव बढेको छ । उपत्यकाभित्रका विभिन्न खोला तथा नदीको पानी यही क्षेत्र हुँदै बाहिरिने भएकाले चोभारमा पनि विशेष सतर्कता अपनाउन सम्बन्धित निकायले आग्रह गरेका छन् ।

लगातार वर्षा भइरहेकाले नदी तथा खोला किनारमा बसोबास गर्नेहरूलाई थप सावधानी अपनाउन भनिएको छ । सम्भावित जोखिमलाई ध्यानमा राख्दै नदी किनारमा नजान, अति आवश्यक कामबाहेक यात्रा नगर्न तथा मौसम र बाढीसम्बन्धी आधिकारिक सूचना नियमित रूपमा हेर्न सुरक्षा निकायले सर्वसाधारणलाई आग्रह गरेका छन् ।

काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा खोलानालाको जलसतह बढेसँगै अवस्था ठाउँअनुसार फरक देखिएको छ । कतै नदी करिडोरमा आवागमन प्रभावित भएको छ भने कतै बस्ती तथा घरहरू जोखिममा परेका छन् । वर्षा जारी रहेकाले नदी किनार र तटीय क्षेत्रमा बसोबास गर्नेहरूलाई विशेष सावधानी अपनाउनुपर्ने अवस्था छ ।