वर्षाले बाढी प्रभावितको जनजीवन थप कष्टकर, राहतमा प्राप्त खाद्यान्न, लत्ताकपडा जोगाउन समेत कठिन
टेन्टभित्र पानी पसेपछि राहतमा प्राप्त खाद्यान्न, लत्ताकपडा तथा अन्य सामग्री जोगाउन समेत कठिन भएको रसुवाबाट विस्थापित भई नुवाकोटमा बस्दै आएका उत्तरगया गाउँपालिका–१ का वडाध्यक्ष मानसिंह तामाङले बताए ।
नुवाकोट । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित भएर अस्थायी टहरा तथा टेन्टमा बस्दै आएका परिवार निरन्तरको वर्षाका कारण थप समस्यामा परेका छन् । बिहीबारदेखि सुरु भएको वर्षा शुक्रबार पनि नरोकिएपछि खुला स्थानमा बनाइएका अस्थायी संरचनामा पानी पस्न थालेको छ । टेन्टभित्र पानी पसेपछि राहतमा प्राप्त खाद्यान्न, लत्ताकपडा तथा अन्य सामग्री जोगाउन समेत कठिन भएको रसुवाबाट विस्थापित भई नुवाकोटमा बस्दै आएका उत्तरगया गाउँपालिका–१ का वडाध्यक्ष मानसिंह तामाङले बताए ।
उनका अनुसार टेन्टको छानाबाट पानी चुहिनुका साथै जमिनबाट बगेको भलसमेत भित्र पस्दा प्रभावित परिवारको दैनिकी थप कष्टकर बनेको छ । रसुवाबाट विस्थापित भएर नुवाकोटका विभिन्न स्थानमा बस्दै आएका ३४४ परिवारमध्ये १४२ परिवार विदुर नगरपालिका–५, बाणाचौतारोमा अस्थायी टेन्टमा बसिरहेका छन् ।
टेन्टमा पानी चुहिएपछि राहतमा प्राप्त खाद्यान्न र लत्ताकपडा भिज्नुका साथै ज्येष्ठ नागरिक र बालबालिकालाई समस्या भएको खाल्डेबाट विस्थापित भई बाणाचौतारोमा बस्दै आएका दावामिङ्मार तामाङले बताए । “टेन्टमा पानी पसेपछि सामान जोगाउनै समस्या भएको छ । जमिन हिलाम्मे बनेको छ भने चिसो बढेपछि ज्येष्ठ नागरिक र बालबालिकालाई बढी समस्या भएको छ,” उनले भने ।
अस्थायी संरचनामा बस्दै आएका प्रभावितको टेन्टमा पानी चुहिन नदिन नेपाल रेडक्रस सोसाइटी नुवाकोट शाखाले त्रिपाल उपलब्ध गराएर सहयोग गरिरहेको छ । शाखाका मन्त्री उद्धव शर्मा रिजालका अनुसार बाणाचौतारोसहित जिल्लाका पाँच स्थानमा रहेका प्रभावितको टेन्टमा त्रिपाल ओढाउने र जमिनबाट बगेको पानी भित्र पस्न नदिन पानी निकासको व्यवस्था मिलाउने काममा स्वयंसेवक परिचालन गरिएको छ ।
“वर्षाका कारण प्रभावितको बसाइ थप कष्टकर बनेपछि टेन्टमा त्रिपाल ओढाउने र पानीको निकास बनाउने काम भइरहेको छ,” उनले भने, “आज साँझसम्म सबै स्थानमा रहेका प्रभावितको टेन्टमा त्रिपाल लगाउने काम सक्ने लक्ष्य छ ।” निरन्तरको वर्षाले बाढीले पुरिएका संरचनाको भग्नावशेष हटाएर सामग्री निकाल्ने तथा खोज तथा उद्धारको कामसमेत प्रभावित भएको छ । त्रिशूली बजार तथा त्रिशूली नदीको पारिपट्टि बाढीले पुरिएका संरचनामा भइरहेको खोज तथा उद्धारमा वर्षाका कारण कठिनाइ भएको विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले बताए ।
बाढीले पुरिएका संरचनाको भग्नावशेष हटाएर सुरक्षित सामग्री निकाल्न विदुर नगरपालिका तथा विभिन्न संघसंस्थाले प्रभावित परिवारलाई सहयोग गरिरहेका छन् । तर, लगातारको वर्षाले भग्नावशेष तथा आसपासको क्षेत्र हिलाम्मे बनेपछि खोज तथा उद्धारसँगै सामग्री निकाल्ने काममा कठिनाइ भइरहेको श्रेष्ठले बताए ।
भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण नुवाकोटमा दुई हजार १०० भन्दा बढी घरपरिवार प्रत्यक्ष प्रभावित भएर घरबारविहीन भएका छन् । भाडामा बस्दै आएका तथा व्यवसाय सञ्चालन गर्ने परिवारसमेत जोडिँदा बाढीपछि जिल्लामा दुई हजार ५०० भन्दा बढी परिवार प्रभावित भएको जिल्ला प्रशासन कार्यालय नुवाकोटको तथ्यांक छ ।
बाढीबाट विस्थापित केही परिवारले घर तथा बाढीले पुरिएका संरचनाबाट सामग्री निकाल्न सफल भए पनि धेरै परिवार अझै अस्थायी संरचना र राहत सामग्रीको भरमा बसिरहेका छन् । लगातारको वर्षाले चिसो बढेपछि विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक, सुत्केरी तथा बिरामीलाई थप समस्या भएको छ । बाढीपछि अस्थायी संरचनामा आश्रय लिइरहेका परिवारको जनजीवन वर्षाका कारण झन् कठिन बनेको छ । राहत, सुरक्षित आवास र उद्धारका काम भइरहे पनि प्रतिकूल मौसमले प्रभावितको दैनिक जीवनमा थप चुनौती थपिएको छ ।
