ल्यान्डफिल साइटमा पहिरोपछि काठमाडौंमा फोहोर संकलन प्रभावित, घरमै राख्न महानगरको आग्रह

विज्ञापन
ncell

फोहोर घरमै राख्नुपर्ने अवस्था लम्बिन सक्ने भएकाले सड्ने र नसड्ने फोहोर छुट्टाछुट्टै वर्गीकरण गरेर सुरक्षित रूपमा भण्डारण गर्न महानगरले सुझाव दिएको छ ।

काठमाडौं । लगातारको वर्षाका कारण काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन प्रभावित भएको छ । फोहोर विसर्जन हुँदै आएको ल्यान्डफिल साइटमा पहिरो र लेदोको समस्या देखिएपछि काठमाडौं महानगरपालिकाले केही समयका लागि फोहोर घरबाट बाहिर ननिकाल्न नगरवासीलाई आग्रह गरेको छ ।

महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले शुक्रबार सूचना जारी गर्दै वर्षाका कारण फोहोर संकलन तथा ढुवानी नियमित रूपमा सञ्चालन गर्न कठिनाइ भइरहेको जनाएको हो । वर्षाका कारण ल्यान्डफिल साइटको माथिल्लो भागबाट माटो र लेदो खसिरहेको तथा केही स्थानमा पहिरोसमेत गएको महानगरले जनाएको छ । यसले फोहोर बोकेका सवारीसाधनलाई विसर्जनस्थलसम्म पुग्न र त्यहाँ फोहोर खसाल्न समस्या भएको छ ।

यस परिस्थितिका कारण फोहोर संकलन तथा ढुवानी सेवा कहिलेदेखि नियमित हुन्छ भन्ने निश्चित नभएको महानगरले जनाएको छ । सेवा पुनः सहज नभएसम्म घर, पसल तथा व्यवसायबाट निस्कने फोहोर सुरक्षित रूपमा आफ्नै परिसरमा राख्न महानगरले अनुरोध गरेको छ ।

महानगरले सडक, चोक, सार्वजनिक स्थल तथा खोलानालामा फोहोर नफाल्न पनि नगरवासीलाई सचेत गराएको छ। जथाभावी फोहोर फाल्दा वर्षाको पानी निकास हुने नाला तथा ढलमा अवरोध सिर्जना भई सडकमा पानी जम्ने, डुबान तथा बाढीको जोखिम बढ्न सक्ने भएकाले विशेष सावधानी अपनाउन आग्रह गरिएको छ ।

फोहोर घरमै राख्नुपर्ने अवस्था लम्बिन सक्ने भएकाले सड्ने र नसड्ने फोहोर छुट्टाछुट्टै वर्गीकरण गरेर सुरक्षित रूपमा भण्डारण गर्न महानगरले सुझाव दिएको छ ।