एआईको बढ्दो लगानीले विश्व अर्थतन्त्रमा अवसरसँगै जोखिम बढायो
प्रतिवेदनअनुसार सन् २०२६ को पहिलो छ महिनामा धेरै अर्थतन्त्रमा एआईसम्बन्धी लगानी र उत्पादन तीव्र रूपमा बढेको थियो । यसले मध्यपूर्वको द्वन्द्वबाट परेको समग्र आर्थिक प्रभावलाई केही हदसम्म कम गर्न सहयोग पुर्याएको थियो ।
कृत्रिम बुद्धिमत्ता (एआई) विश्व अर्थतन्त्रका लागि आर्थिक वृद्धिको संवाहकसँगै जोखिमको स्रोत पनि रहेको आर्थिक सहयोग तथा विकास सङ्गठन (ओइसीडी)ले बुधबार सार्वजनिक गरेको ‘आर्थिक परिदृश्य अन्तरिम प्रतिवेदन’ले जनाएको छ ।
प्रतिवेदनअनुसार सन् २०२६ को पहिलो छ महिनामा धेरै अर्थतन्त्रमा एआईसम्बन्धी लगानी र उत्पादन तीव्र रूपमा बढेको थियो । यसले मध्यपूर्वको द्वन्द्वबाट परेको समग्र आर्थिक प्रभावलाई केही हदसम्म कम गर्न सहयोग पुर्याएको थियो ।
यस अवधिमा विश्वव्यापी आर्थिक वृद्धिदर वार्षिक दुई दशमलव छ प्रतिशतमा झरेको छ, जुन सन् २०२५ को सोही अवधीमा तीन दशमलव छ प्रतिशत थियो ।
ओइसीडीका अनुसार सन् २०२६ को दोस्रो त्रैमासिकमा विभिन्न देशको वास्तविक कुल गार्हस्थ्य उत्पादन (जीडीपी) वृद्धिमा डाटा सेन्टर पूर्वाधार र प्राविधिक उपकरणमा भएको लगानीले टेवा पु¥याएको थियो । यसबाट सम्बन्धित प्रविधि र निर्माण सामग्रीको ठूलो परिमाणमा उत्पादन गर्ने देशलाई समेत लाभ पुगेको थियो ।
ओइसीडीले सन् २०२६ मा विश्वव्यापी आर्थिक वृद्धिदर दुई दशमलव नौ प्रतिशत र सन् २०२७ मा तीन प्रतिशत रहने प्रक्षेपण गरेको छ । धेरै जी–२० अर्थतन्त्रमा एआईसम्बन्धी खर्च र उत्पादनले आर्थिक वृद्धिलाई निरन्तर सहयोग गर्ने अपेक्षा गरिएको छ । यस्तो प्रभाव व्यावसायिक क्षेत्रका अन्य भागमा देखिएको तुलनात्मक रूपमा कमजोर लगानीभन्दा बढी हुने अनुमान छ ।
प्रतिवेदनअनुसार एआईसम्बन्धी लगानी र प्रविधि उत्पादनको थप विस्तारले निकट भविष्यमा आर्थिक वृद्धिमा थप योगदान पु¥याउन सक्छ । उत्पादन प्रक्रियामा एआई प्रविधिको प्रभावकारी एकीकरण हुन सके यसले उत्पादकत्वमा उल्लेख्य वृद्धि ल्याउन सक्ने ओइसीडीले जनाएको छ ।
ऊर्जा अभावले एआईजस्ता ऊर्जामा अत्यधिक निर्भर र तीव्र रूपमा विस्तार भइरहेका उद्योगलाई विशेष असर पार्न सक्ने चेतावनी पनि प्रतिवेदनले दिएको छ ।
एआईमा गरिएको लगानीबाट अपेक्षित प्रतिफल नआउन सक्ने वा हालको अनुमानभन्दा ढिलो प्राप्त हुने जोखिम रहेको ओइसीडीले जनाएको छ । विशेषगरी विद्युत् र उन्नत सेमीकन्डक्टरजस्ता आवश्यक सामग्रीको आपूर्तिमा अवरोध आए यस्तो जोखिम बढ्न सक्छ।
त्यस्तै, एआईसँग सम्बन्धित बढ्दो सुरक्षा चिन्ताले यसको विकास वा प्रयोगको गति सुस्त बनाउन सक्ने प्रतिवेदनमा उल्लेख छ ।
एआई कम्पनीहरूको ऋणमा बढ्दो निर्भरता, जटिल वित्तीय संरचना र कर्जा जोखिमका सङ्केतले लगानीकर्ताको मनोभावनामा आउने तीव्र परिवर्तनलाई थप बढावा दिन सक्ने ओइसीडीले चेतावनी दिएको छ ।
