घण्टा-घण्टामा पूर्वसूचना दिइनेः नदीको अवस्था र जोखिम निरन्तर निगरानी

विज्ञापन
ncell

सम्भावित भारी वर्षा र त्यसबाट निम्तिनसक्ने बाढी तथा पहिरोको जोखिमलाई मध्यनजर गर्दै सरकारले नदीको अवस्था र सम्भावित विपद्को निरन्तर निगरानी गरी सर्वसाधारणलाई घण्टा-घण्टामा पूर्वसूचना (अपडेट) दिने भएको छ ।

काठमाडौं । सम्भावित भारी वर्षा र त्यसबाट निम्तिनसक्ने बाढी तथा पहिरोको जोखिमलाई मध्यनजर गर्दै सरकारले नदीको अवस्था र सम्भावित विपद्को निरन्तर निगरानी गरी सर्वसाधारणलाई घण्टा-घण्टामा पूर्वसूचना (अपडेट) दिने भएको छ । 

आगामी शुक्रबारदेखि आईतबार (असोज ८, ९ र १० गते) सम्म देशका अधिकांश भू-भागमा भारी वर्षाको सम्भावना रहेकाले विपद् जोखिम न्युनिकरण तथा प्रतिकार्यको तयारीस्वरुप पूर्वसूचना प्रणालीलाई चुस्त बनाइएको हो । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीकाअनुसार जल तथा मौसम विज्ञान विभाग र बाढी पूर्वानुमान महाशाखासँग निरन्तर समन्वय गरी नदीहरूको जलसतह र जोखिमको अवस्था ‘रियल टाइम’ मा निगरानी गरिनेछ । सम्भावित बाढी खतराको तहमा कहिले पुग्छ र त्यसले कस्तो प्रभाव पार्न सक्छ भन्ने प्राविधिक विश्लेषण गरी हरेक घण्टा सूचना अद्यावधिक गरिने उनले जानकारी दिए ।

‘साइक्लोन’ को प्रत्यक्ष निगरानी, उच्च हिमाली क्षेत्रमा ‘रेड अलर्ट’

समुन्द्रमा बन्ने ठूलो आँधी (साइक्लोन) प्रणाली र त्यसको दिशा परिवर्तनको सम्भावनालाई प्राधिकरणले प्रत्यक्ष निगरानी गरिरहेको छ । मौसम प्रणाली तीव्र गतिमा फेरिन सक्ने भएकाले उच्च हिमाली क्षेत्रमा भारी हिमपातको सम्भावनालाई मध्यनजर गर्दै ‘रेड अलर्ट’ जारी गरिएको छ । 

मध्यपहाडी र तल्लो तटीय क्षेत्रमा मध्यमदेखि भारी वर्षाको प्रक्षेपण गरिएको छ । यसैलाई ध्यानमा राखी जोखिमयुक्त हिमाली तथा पहाडी क्षेत्रमा रहेका पर्यटकहरूलाई तत्काल सुरक्षित स्थानमा ओर्लिन आग्रह गरिएको छ भने ट्राभल एजेन्सीहरूलाई समेत नयाँ बुकिङ नगर्न र हेलिकप्टर उडानको पूर्वतयारीमा सतर्क रहन एडभाइजरी जारी गरिएको छ ।

यातायात पूर्ण रूपमा रोकिन सक्ने, किसानलाई धानबाली जोगाउन आग्रह

विपद्को जोखिम बढेमा राजमार्ग तथा सडकहरूमा सवारी आवागमन पूर्ण रूपमा निषेध गरिन सक्ने प्राधिकरणले जनाएको छ । कार्यकारी प्रमुख उप्रेतीका अनुसार शुक्रवार र शनिवार यात्रुहरूलाई अतिआवश्यक नपरी यात्रा नगर्न र यातायात व्यवसायीलाई पनि सेवा सञ्चालन नगर्न आग्रह गर्ने तयारी गरिएको छ । पहिरोको सम्भावित जोखिमलाई ध्यानमा राखी देशका मुख्य राजमार्गहरूमा तत्काल सडक खुलाउन डोजरहरू ‘स्ट्यान्डबाई’ राखिएको छ । 

यस्तै, वर्षाले कृषि क्षेत्रमा ठूलो क्षति पुर्‍याउन सक्ने भएकाले खेतमा पाकेको धानबाली र भण्डारण गरिएको अनाज संरक्षणमा विशेष सतर्कता अपनाउन किसानहरूलाई आग्रह गरिएको छ । यस सम्बन्धमा कृषि मन्त्रालयमार्फत छुट्टै एडभाइजरी समेत जारी भइसकेको छ ।

बाढीमा टिकटक बनाउन र दाउरा संकलन गर्न नजान चेतावनी

प्राधिकरणले बाढीको समयमा भिडियो खिच्न, टिकटक बनाउन वा सामाजिक सञ्जालमा सामग्री राख्न आफ्नै ज्यान जोखिममा नपार्न सर्वसाधारणलाई कडा चेतावनी दिएको छ । बाढीले बगाएर ल्याएका दाउरा वा अन्य सामग्री संकलन गर्न खोलामा पस्ने प्रवृत्ति जोखिमपूर्ण हुने भन्दै यस्ता गतिविधि नगर्न उप्रेतीले आग्रह गरे । 

हाल देशभरका सुरक्षा निकायलाई ‘हाई अलर्ट’ मा राखिनुका साथै ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) हरू सम्मिलित कमाण्ड पोस्टमार्फत मौसमी अवस्थाको प्रत्यक्ष निगरानी र प्रतिकार्यको तयारी तिब्र पारिएको छ ।