डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण

विज्ञापन
ncell

रसुवा बाढीमा परी ज्यान गुमाएका तथा बेपत्ता भएका व्यक्तिको पहिचानका लागि डीएनए प्रोफाइलिङ गर्न चीनले नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण गरेको हो ।

काठमाडौं ।  चीन सरकारले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) लाई डिएनए परिक्षणको लागि आवश्यक उपकरण, सामग्री तथा प्रविधि उपलब्ध गराएको छ । रसुवा बाढीमा परी ज्यान गुमाएका तथा बेपत्ता भएका व्यक्तिको पहिचानका लागि डीएनए प्रोफाइलिङ गर्न चीनले नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण गरेको हो ।

बुधबार विज्ञान तथा प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनको उपस्थितिमा आयोजित एक कार्यक्रममा कार्यक्रममा नेपालका लागि चीनका राजदुत झाङ माओमिङले डीएनए प्रोफाइलिङका लागि आवश्यक सामग्री तथा प्रविधि नाष्टलाई हस्तान्तरण गरेका छन् । बाढीपछि राष्ट्रिय विधि विज्ञान प्रयोगशाला र नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशालामा मात्रै डिएनए नमूना परीक्षण सम्भव नभएपछि नास्टको प्रयोगशालामा पनि परिक्षण गर्ने काम भईरहेको नास्टका वरिष्ठ वैज्ञानिक तथा प्रवक्ता डा.रामचन्द्र पौडेलले बताए ।

पौडेलकाअनुसार हालसम्म नास्टको प्रयोगशालाले करिव ८०७ वटा नमुना प्राप्त गरेको छ । नेपाल प्रहरीको फरेन्सिक ल्याबबाट मात्रै पछिल्लो पटक १२ वटा नमुना नास्टले प्राप्त गरेको उनले जानकारी दिए । बाढीपछि ठूलो संख्यामा मानिस बेपत्ता भएको प्रारम्भिक विवरण आएपछि नमूना परीक्षणलाई तिब्रता दिन विभिन्न प्रयोगशालाबीच काम बाँडफाँट गरिएको उनले बताए ।

राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा भारतबाट आएका विज्ञले समेत सहयोग गरिरहेका छन् भने नेपाल प्रहरीको फरेन्सिक ल्यावमा पनि विदेशी विज्ञको सहयोग रहेको उनको भनाइ छ । नास्टले प्राप्त गर्ने नमुनाको प्रोफाइल तयार गरी सम्बन्धित फरेन्सिक प्रयोगशालालाई उपलब्ध गराउने पौडेलले बताए ।

अन्तिम विश्लेषण तथा पहिचानका लागि आवश्यक डेटासँग मिलान गर्ने काम सम्बन्धित वैधानिक फरेन्सिक निकायबाट हुने उनको भनाई छ । उनकाअनुसार नास्टमा भइरहेको कामले तत्कालीन डीएनए परीक्षणसँगै नेपाली वैज्ञानिकको क्षमता विकासमा समेत सहयोग पुगेको छ । चिनियाँ विज्ञहरूले आफ्ना उपकरणसहित नेपाल नेपाली वैज्ञानिकलाई तालिम र प्राविधिक सहयोग गरिरहेको उनले बताए ।

पौडेलका अनुसार मानव अवशेषबाट डीएनए निकाल्ने प्रविधि अन्तर्राष्ट्रिय मापदण्डअनुसार नै सञ्चालन भइरहेको छ । चिनियाँ उपकरण र प्रविधि प्रयोग गर्दा प्रक्रिया थप अनुकूलित भएकाले परीक्षणलाई तीव्र बनाउन सहयोग पुगेको उनको भनाइ छ । उनले नमुनाको संख्या घटेपछि नियमित रूपमा हुने फरेन्सिक परीक्षण राष्ट्रिय विधि विज्ञान प्रयोगशाला र प्रहरीको फरेन्सिक ल्याबबाटै सञ्चालन गर्न सकिने बताए ।