विदेशी लगानीकर्ताको आकर्षणमा कमी आएको छैनः लगानी बोर्ड
उनका अनुसार विगत १४ वर्षमा लगानी बोर्डबाट करिब १ दशमलव ६७ ट्रिलियन रुपैयाँ बराबरको लगानी स्वीकृत भएको भएको छ ।
काठमाडौं । लगानी बोर्डकी प्रमुख कार्यकारी अधिकृत याङ्की उक्यावले नेपाल लगानी गर्न विदेशी लगानीकर्ताहरु उत्सुक र आकर्षित भएपनि स्वीकृत लगानीको प्रभावकारी कार्यान्वयन हुन नसकेको बताएकी छन् । मंगलबार सिंहदरबारमा बसेको राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै उनले स्वीकृत लगानीलाई वास्तविक परियोजना र रोजगारीमा रूपान्तरण गर्न आवश्यक रहेको बाएकी हुन् ।
उनले लगानी बोर्डलाई परियोजना कार्यान्वयनमा केन्द्रित ‘डेलिभरी युनिट’का रूपमा विकास गर्न आफूहरु क्रियाशील रहेको पनि बताइन् । उनका अनुसार विगत १४ वर्षमा लगानी बोर्डबाट करिब १ दशमलव ६७ ट्रिलियन रुपैयाँ बराबरको लगानी स्वीकृत भएको भएको छ । तर स्वीकृत लगानीमध्ये कति रकम वास्तविक रूपमा विकास परियोजनासम्म पुगेको छ भन्ने कुरामा थप अध्ययनको आवश्यकता रहेको पनि बताइन् । उनले स्वीकृत लगानी र कार्यान्वयनमा जाने रकमबीच ठूलो अन्तर रहेको उल्लेख गर्दै स्वीकृत लगानीलाई रोजगारी र उत्पादनसँग जोड्न आवश्यक रहेको बताइन् ।
प्रमुख कार्यकारी अधिकृत उक्यावले पर्यटन, जलविद्युत, सूचना प्रविधि तथा रासायनिक मललगायत विभिन्न क्षेत्रमा विदेशी लगानीकर्ताको चासो रहेको बताइन् । उनले विदेशी लगानीकर्तालाई लगानीको लागि लामो र झन्झटिलो प्रक्रियाका कारण अवरोध सिर्जना हुने गरेको पनि बताइन् । लगानीकर्ताले परियोजना अघि बढाउने क्रममा स्वीकृति, लाइसेन्स, सरकारी निकायसँगको समन्वय, कार्यान्वयन र हस्तान्तरणसम्म विभिन्न चरण पार गर्नुपर्ने भएकाले त्यसमा सुधार गर्न जरुरी रहेको बताइन् ।
उनले लगानी बोर्डको संरचना पुनरावलोकन गर्नुपर्ने पनि बताइन् । उनले लगानी बोर्डमा हाल पाँचवटा परियोजना अध्ययन तथा मूल्यांकनको चरणमा र तीनवटा परियोजना सञ्चालनमा रहेको समेत समितिलाई जानकारी गराइन् । उनले स्वीकृत लगानीलाई उत्पादन र रोजगारसँग जोड्न सरोकारवाला सबै निकायहरुबीच प्रभावकारी समन्वयको आवश्यकता रहेको पनि बताइन् ।
