ब्रेकमा समस्या देखिएपछि बीवाइडीका १ लाख ८३ हजारभन्दा बढी ईभी रिकल

विज्ञापन
ncell

चिनियाँ विद्युतीय सवारीसाधन निर्माता कम्पनी बीवाइडीले ब्रेक पेडलमा प्राविधिक समस्या देखिएपछि चीनमा बिक्री भएका १ लाख ८३ हजार २११ वटा सवारीसाधन फिर्ता बोलाएको छ ।

काठमाडौं । चिनियाँ विद्युतीय सवारीसाधन निर्माता कम्पनी बीवाइडीले ब्रेक पेडलमा प्राविधिक समस्या देखिएपछि चीनमा बिक्री भएका १ लाख ८३ हजार २११ वटा सवारीसाधन फिर्ता बोलाएको छ । चीनको बजार नियामक निकाय ‘स्टेट एडमिनिस्ट्रेशन फर मार्केट रेगुलेसन’का अनुसार रिकलमा बीवाइडीका ‘चिन’ र ‘ताङ’ सिरिजका सन् २०१४ देखि २०२२ सम्म उत्पादन भएका सवारीसाधन छन् ।

गाडीको ब्रेक पेडलमा प्रयोग हुने ‘स्टप बफर’ वा ‘स्टपर प्याड’मा उत्पादनसम्बन्धी त्रुटि भेटिएको हो । समयसँगै उक्त पार्ट फुट्ने वा आफ्नो स्थानबाट छुट्टिने जोखिम रहेको नियामकले जनाएको छ । यसका कारण चालकले ब्रेक नथिचेको अवस्थामा समेत पछाडिको ब्रेक लाइट बलिरहन सक्ने र अन्य चालक झुक्किँदा दुर्घटनाको जोखिम बढ्न सक्ने बताइएको छ ।

बीवाइडीले प्रभावित गाडीमा उक्त पार्ट निःशुल्क परिवर्तन गर्ने जनाएको छ । कम्पनीका अनुसार समस्या चीनमा बिक्री भएका निश्चित ब्याचका गाडीमा मात्र सीमित रहेको र सिंगापुरलगायत अन्य अन्तर्राष्ट्रिय बजारका समान मोडेल प्रभावित नभएको जनाएको छ ।

यसैबीच, चीनकै अर्को ईभी निर्माता कम्पनी नियोले पनि आफ्नो ‘फायरफ्लाई’ ब्रान्डका ६८६ वटा विद्युतीय सवारीसाधन रिकल गरेको छ । ती गाडीमा स्टेयरिङ प्रणालीसँग सम्बन्धित समस्या देखिएको हो । कम्पोनेन्टमा खराबी आउँदा ‘पावर स्टेयरिङ असिस्ट’ अचानक बन्द हुन सक्ने जोखिम रहेको नियामकले जनाएको छ ।

नियोले प्रभावित गाडीको निःशुल्क परीक्षण गरी आवश्यक परे वायरिङ हार्नेससमेत निःशुल्क परिवर्तन गर्ने जनाएको छ । चीनमा पछिल्लो समय विभिन्न अटोमोबाइल कम्पनीका ठूलो संख्याका गाडी रिकल भइरहेका छन् । गत अगस्टमा मात्रै टेस्ला, साओमी, एक्सपेङ, लिपमोटर र जीकरसहित ११ उत्पादकका करिब ४० लाखभन्दा बढी गाडीमा ढोकाको आकस्मिक लकिङ प्रणालीमा समस्या देखिएपछि रिकल गरिएको थियो ।

यता, बीवाइडीको विश्वव्यापी बिक्री भने तीव्ररूपमा विस्तार भइरहेको छ । गत अगस्टमा कम्पनीले विश्वभर ४ लाख ४० हजार २९३ वटा ‘न्यू इनर्जी भेहिकल’ बिक्री गरेको थियो । तीमध्ये २ लाख ५६ हजार २३० वटा बीईभी रहेका थिए । एकै महिनामा २ लाख ५० हजारभन्दा बढी बीईभी बिक्री गर्दै कम्पनीले नयाँ रेकर्डसमेत बनाएको छ।