त्रिपुरेश्वरमा बसमा आगलागी हुनुअघि चालक र ट्राफिक प्रहरीबीच चर्किएको थियो विवाद
भिडियोमा ट्राफिक नियम उल्लंघन गरेको भन्दै चालकलाई जरिवाना तिराउन खोजिएको र चालकले भने आफूले कुनै गल्ती नगरेको भन्दै जरिवाना तिर्न अस्वीकार गरेको सुनिन्छ ।
काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरमा बसमा आगलागी हुनुअघि चालक र ड्युटीमा खटिएका ट्राफिक प्रहरीबीच विवाद भएको खुलेको छ । सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा बस चालक र ट्राफिक प्रहरीबीच जरिवाना तिर्ने विषयमा चर्काचर्की भएको देखिन्छ ।
रिद्धीसिद्धी यातायातको बा ५ ख ४२७४ नम्बरको बसमा सोमबार आगलागी भएको थियो । आगलागीमा बस चालक काभ्रेका २५ वर्षीय दावा लामा गम्भीर घाइते भएका छन् । उनलाई प्रहरीले उद्धार गरी उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल पठाएको थियो । उपचारमा संलग्न चिकित्सकका अनुसार लामाको अवस्था चिन्ताजनक छ ।
आगलागी हुनुअघि खिचिएको भनिएको भिडियोमा चालक बसको ड्राइभिङ सिटमै रहेका छन् भने सडकमा ट्राफिक प्रहरीसहित अन्य सुरक्षाकर्मी देखिन्छन् । भिडियोमा ट्राफिक नियम उल्लंघन गरेको भन्दै चालकलाई जरिवाना तिराउन खोजिएको र चालकले भने आफूले कुनै गल्ती नगरेको भन्दै जरिवाना तिर्न अस्वीकार गरेको सुनिन्छ ।
‘मलाई विना कसुर फाइन हान्न खोज्छ उहाँहरूले,’ चालकले भिडियोमा भनेका छन् । ट्राफिक प्रहरीहरूले जरिवाना तिर्नुपर्ने भन्दै आग्रह गरिरहँदा चालकले आफूले गल्ती नगरेको दाबी गर्दै आफूले प्रहरीलाई सम्मान गरेको र माफीसमेत मागिसकेको बताएका छन्।
बस सडकको बीच भागमा रोकिएकाले यातायात आवागमन प्रभावित भएको भन्दै सुरक्षाकर्मीहरूले बसलाई साइड लगाउन आग्रह गरेको पनि भिडियोमा सुनिन्छ । चालक र ट्राफिक प्रहरीबीच विवाद बढ्दै जाँदा चालक थप आक्रोशित देखिन्छन् ।
‘हामी काम गर्ने मान्छे हो, म मर्न तयार छु,’ चालकले भनेका छन् । उनले आफूले गल्ती नगरेको भन्दै माफी माग्दा पनि जरिवाना तिराउन खोजिएको गुनासोसमेत गरेका छन् । भिडियोमा चालकले ट्राफिक प्रहरीतर्फ संकेत गर्दै आफूले सम्मान गरेको तर आफूलाई अन्याय गर्न खोजिएको भन्दै आक्रोश पोखेको देखिन्छ । विवाद भइरहेकै क्रममा केही समयपछि बसको पछिल्लो भागबाट अचानक आगो दन्किएको देखिन्छ ।
आगलागी कसरी भयो भन्ने विषयमा भने प्रहरीले अनुसन्धान गरिरहेको छ । विवाद र आगलागीबीचको घटनाक्रमबारे थप तथ्य अनुसन्धानपछि खुल्ने प्रहरीले जनाएको छ ।
