नयाँ प्रणालीमार्फत लाइसेन्स छपाइ सुरु, पहिलो चरणमा मधेशका ३ हजार ८१ लाइसेन्स छापिए
सेवाग्राहीको चाप र लामो समयदेखि देखिँदै आएको लाइसेन्स छपाइसम्बन्धी समस्या समाधान गर्ने उद्देश्यले पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको यातायात व्यवस्था विभागले नयाँ प्रणालीमार्फत लाइसेन्स छपाइ सुरु गरेको हो ।
काठमाडौं । सरकारले साउन १ गतेदेखि लागू गरेको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभिआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम सुरु गरेको छ। सेवाग्राहीको चाप र लामो समयदेखि देखिँदै आएको लाइसेन्स छपाइसम्बन्धी समस्या समाधान गर्ने उद्देश्यले पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको यातायात व्यवस्था विभागले नयाँ प्रणालीमार्फत लाइसेन्स छपाइ सुरु गरेको हो ।
नयाँ प्रणालीले नयाँ लाइसेन्स लिने तथा पुरानो लाइसेन्स नवीकरण गर्ने प्रक्रियालाई थप छिटो, सहज र सेवामुखी बनाउने अपेक्षा गरिएको छ । ईडीएलभिआरएसमा अपलोड भएका सेवाग्राहीका विवरण सिधै सुरक्षण मुद्रणमा पुग्ने व्यवस्था गरिएको छ । सुरक्षण मुद्रणले प्राप्त विवरणका आधारमा लाइसेन्स छपाइ गरी हुलाकमार्फत सम्बन्धित यातायात व्यवस्था सेवा कार्यालयमा पठाउनेछ। यसबाट लाइसेन्स छपाइ तथा वितरणमा विगतदेखि देखिँदै आएको समस्या कम हुने विभागको अपेक्षा छ ।
नयाँ प्रणालीअन्तर्गत पहिलो चरणमा मधेश प्रदेशका ३ हजार ८१ वटा सवारी चालक अनुमतिपत्र छपाइ गरी वितरणका लागि हुलाकमार्फत सम्बन्धित यातायात व्यवस्था सेवा कार्यालयमा पठाइएको छ । व्यवस्थाअनुसार सम्बन्धित प्रदेश सरकारले सुरक्षण मुद्रणसँग सम्झौता गरी आफ्नै व्यवस्थापनमा सवारी चालक अनुमतिपत्र छपाइ गर्न सक्नेछन् । सोहीअनुसार मधेश प्रदेश सरकारले सुरक्षण मुद्रणसँग सम्झौता गरी आफ्नै व्यवस्थापनमा लाइसेन्स छपाइ गरिरहेको छ ।
त्यस्तै, लुम्बिनी प्रदेश सरकारले पनि शुक्रबार सुरक्षण मुद्रणसँग सम्झौता गरी सवारी चालक अनुमतिपत्र छपाइको काम सुरु गरेको छ ।प्रदेश सरकारले सुरक्षण मुद्रणसँग सम्झौता नगरेको अवस्थामा भने सेवाग्राहीको चाप र समस्यालाई ध्यानमा राख्दै यातायात व्यवस्था विभाग र सुरक्षण मुद्रणको समन्वयमा लाइसेन्स छपाइको व्यवस्था मिलाइनेछ ।
नयाँ प्रणालीमार्फत लाइसेन्स छपाइ सुरु भएसँगै प्रदेशअनुसार छपाइको जिम्मेवारी व्यवस्थापन गर्दै सेवाग्राहीलाई सहज, छिटो र समयमै सवारी चालक अनुमतिपत्र उपलब्ध गराउने व्यवस्था कार्यान्वयनमा आएको छ ।
