गुडिरहेको विद्युतीय बसमा आगलागी
आगलागीको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।
काठमाडौं । महेन्द्र राजमार्गमा गुडिरहेको एक विद्युतीय माइक्रोबसमा आगलागी भएको छ। बर्दियाको बारबर्दिया नगरपालिका-७ रम्मापुरस्थित महेन्द्र राजमार्गमा गुडिरहेको विद्युतीय (ईभी) मिनि बसमा आइतबार बिहान आगलागी भएको हो ।
बिहान करिब ६ बजेर ५० मिनेट जाँदा कोहलपुरबाट कैलालीतर्फ जाँदै गरेको सु.प.प्र ०१-००२ ज ४३३ नम्बर को भाडाको ईभी गुडिरहेको अवस्थामा एक्कासि आगलागी भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । घटनामा चालक र सहचालक सकुशल रहेका छन् भने गाडीमा रहेको नगद र कागजात जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
गाडी चालक कैलालीको धनगढी उपमहानगरपालिका-३ निवासी ३८ वर्षीय नरेन्द्र नेगी रहेको प्रहरीले जनाएको छ ।
आगलागी हुँदा गाडीमा चालक र सहचालक मात्रै सवार भएकाले कुनै मानवीय क्षति भएको छैन । आगलागीबाट गाडीमा रहेका आवश्यक कागजात तथा ४२ हजार रुपैयाँ नगद जलेर नष्ट भएको छ । आगलागीको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।
