आत्मनिर्भर नभई अन्तरनिर्भर अर्थतन्त्र निर्माण सम्भव छैनः पूर्वराष्ट्रपति भण्डारी
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालले व्यापार घाटा कम गर्न आत्मनिर्भर अर्थतन्त्र निर्माणमा जोड दिनुपर्ने बताएकी छन् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालले व्यापार घाटा कम गर्न आत्मनिर्भर अर्थतन्त्र निर्माणमा जोड दिनुपर्ने बताएकी छन् ।
शनिबार काठमाडौंमा आयोजित ‘हिमाल, जलवायु र विपद् अन्तरसंवाद’ कार्यक्रममा बोल्दै उनले आत्मनिर्भर नभई अन्तरनिर्भर अर्थतन्त्र निर्माण गर्न नसकिने बताएकी हुन् ।
नेपालको आर्थिक अवस्थाबारे धेरै छलफल हुने गरेको उल्लेख गर्दै पूर्वराष्ट्रपति भण्डारीले मुलुकको व्यापार घाटा ठूलो रहेको बताइन् । अर्थशास्त्री तथा विज्ञहरूले व्यापार घाटाको समस्या समाधानका लागि अन्तरनिर्भर अर्थतन्त्रमा जोड दिने गरेको भएपनि अन्तरनिर्भर हुनुअघि आत्मनिर्भर बन्नुपर्ने उनको भनाइ छ ।
नेपालमा उत्पादन भएका वस्तुको हिस्सा कति छ भन्ने प्रश्न उठाउँदै उनले ठूलो व्यापार कारोबार भए पनि त्यसबाट मुलुकको उत्पादन र अर्थतन्त्रले पर्याप्त लाभ लिन नसकेको बताइन् । पूर्वराष्ट्रपति भण्डारीले नेपालको अर्थतन्त्रको अवस्थाप्रति असन्तुष्टि जनाउँदै आफूले विगतमा ‘नेपालको अर्थतन्त्र खुट्टाले टेकेर हिँड्नुपर्नेमा टाउकाले टेकेको’ टिप्पणी गरेको स्मरण गरिन् ।
उनले नेपालको आर्थिक तथा राजनीतिक अवस्थाको मूल्याङ्कन गर्दा कुनै निश्चित शासन व्यवस्थालाई दोष दिनुभन्दा दीर्घकालीन अवधिको समग्र मूल्याङ्कन गर्नुपर्ने बताइन् ।
राष्ट्रिय हितलाई केन्द्रमा राखेर मुलुकको आर्थिक तथा सामाजिक अवस्थाबारे बहस गर्नुपर्ने उनको भनाइ छ । ठूला विपद् तथा संकटहरू आइरहने अवस्थामा त्यसको सामना गर्न राष्ट्रिय भावना र राष्ट्रिय एकता आवश्यक रहेको पूर्वराष्ट्रपति भण्डारीले बताइन् । उनले राष्ट्रिय समस्या समाधानका लागि साझा एजेण्डा तय गरी सबै एक ठाउँमा उभिनुपर्नेमा जोड दिए ।
