प्रचण्डको आक्रोश-‘अमेरिकी दलालहरुले ३५ वर्षमा केही पनि गरेनन् भन्ने भाष्य निर्माण गरेर जनतालाई भ्रमित पारे’
उनले सामाजिक सञ्जालका अल्गोरिदममार्फत पुराना दल र नेताहरूले गरेका कामबारे गलत धारणा निर्माण गरिएको भन्दै आपत्ति जनाए ।
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहालले साम्राज्यवादी अमेरिकी दलालहरुले पुराना राजनीतिक दल र नेताहरूले ३५ वर्षमा केही पनि गरेनन् भन्ने भाष्य निर्माण गरेर जनतालाई भ्रमित पार्ने काम गरेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित अखिल नेपाल किसान महासंघको केन्द्रिय समितिको पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले आक्रोश व्यक्त गरेका हुन् ।
उनले सामाजिक सञ्जालका अल्गोरिदममार्फत पुराना दल र नेताहरूले गरेका कामबारे गलत धारणा निर्माण गरिएको भन्दै आपत्ति जनाए । उनले मध्यपहाडी लोकमार्ग, उत्तर-दक्षिण करिडोर, मदन भण्डारी राजमार्ग र हुलाकी मार्ग निर्माण तथा विस्तारका निर्णय पुराना राजनीतिक नेतृत्वकै पालामा भएको दाबी गरे । संयोजक दाहालले ऊर्जा क्षेत्रमा समेत महत्वपूर्ण काम भएको जिकिर गरे ।
उनले नेपालमा ऊर्जा क्रान्तिको आवश्यकता औँल्याउँदै विद्युत उत्पादन र निर्यातको अवधारणा अघि बढाउने तथा लोडसेडिङ अन्त्य गर्ने कार्य आफ्नै पालमा भएको दाबी पनि गरे । उनले पुराना तथा स्थापित राजनीतिक दलहरुको योगदानलाई बेवास्ता गर्न नहुने भन्दै आफूले गरेका कामहरु प्रचारप्रसारमा लाग्न समेत नेता कार्यकर्तालाई निर्देशन दिए ।
