अर्थमन्त्रीको भारत भ्रमण: आज कूटनीतिक संवाददेखि उच्चस्तरीय भेटघाटसम्म
इन्डिया इन्टरनेसनल सेन्टरमा आयोजना हुने उच्चस्तरीय कूटनीतिक संवादमा अर्थमन्त्री वाग्ले प्रमुख अतिथिका रूपमा सहभागी भएर आफ्नो विचार राख्नेछन् ।
काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले भारत भ्रमणको दोस्रो दिन आज महत्त्वपूर्ण कूटनीतिक र द्विपक्षीय भेटघाट गर्दै छन् । तीनदिने भ्रमणका लागि उनी बिहीबार भारत गएका थिए। बिहीबार नै उनले भारतीय समकक्षी निर्मला सीतारमणसँग द्विपक्षीय भेटघाट गरेका थिए ।
भ्रमणको दोस्रो दिन अर्थमन्त्री वाग्ले आज विभिन्न कार्यक्रममा सहभागी हुनेछन् । उनले पूर्वविदेशसचिव श्याम शरणले आयोजना गर्ने उच्चस्तरीय कूटनीतिक संवाद कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी हुँदै छन् । इन्डिया इन्टरनेसनल सेन्टरमा आयोजना हुने उच्चस्तरीय कूटनीतिक संवादमा अर्थमन्त्री वाग्ले प्रमुख अतिथिका रूपमा सहभागी भएर आफ्नो विचार राख्नेछन् ।
आजै, अर्थमन्त्री वाग्लेले भारतीय विदेशमन्त्री डा एस जयशंकरसँग भेटवार्ता गर्ने कार्यक्रम छ । भेटवार्ताको समय साँझ ५ बजेका लागि निर्धारण गरिएको छ । यस्तै, आजै वाग्ले भारत व्यापार संवर्द्धन संगठनका अध्यक्ष जावेद अशरफले आयोजना गर्ने बृहत् भेटघाट कार्यक्रममा सहभागी हुँदै छन्। भारत मण्डपममा आयोजना हुने कार्यक्रममा नेपाल-भारत आर्थिक सहकार्यका विभिन्न आयामबारे बृहत् र उच्चस्तरीय छलफल हुनेछ ।
अर्थमन्त्रीको उच्चस्तरीय तीनदिने भारत भ्रमणमा अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साल, परराष्ट्र मन्त्रालयका सहसचिव गेहेन्द्र राजभण्डारी, नेपाली दूतावास नयाँ दिल्लीका उपनियोग प्रमुख डा.सुरेन्द्र थापा, इकोनोमिक मिनिस्टर तारानाथ अधिकारी र अर्थमन्त्रीका निजी उपसचिव कञ्चन बस्नेत सहभागी छन् । भ्रमणको तेस्रो दिन शनिबार निजी क्षेत्र र अन्य उच्चस्तरीय भेटघाट गरेर अर्थमन्त्री नेतृत्वको प्रतिनिधिमण्डल नेपाल फर्कने कार्यक्रम छ ।
