क्यासिनो व्यवसायीको सुझाव-‘एउटै होटलमा एकभन्दा बढी क्यासिनो खोल्न हुन्न, नविकरण अवधि पाँच वर्ष बनाउनु पर्छ’
क्यासिनो व्यवसायीहरुले क्यासिनो नविकरण पाँच गर्ने अवधि पाँच वर्ष बनाउन सुझाव दिएका छन् ।
काठमाडौं । क्यासिनो व्यवसायीहरुले क्यासिनो नविकरण पाँच गर्ने अवधि पाँच वर्ष बनाउन सुझाव दिएका छन् । अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा पर्यटन विधेयक, २०८१ माथिको छलफलका क्रममा क्यासिनो व्यवसायीहरूले क्यासिनोको नविकरण हरके वर्ष गर्ने व्यवस्था हटाउन माग गरेका हुन् ।
व्यवसायीहरुले एउटा होटलमा एक भन्दा बढी क्यासिनो सञ्चालन गर्न नपाईने व्यवस्था गर्न पनि सुझाव दिएका छन् । क्यासिनो व्यवसायी अमूल्य राणाले एउटै होटल परिसरमा एकभन्दा बढी क्यासिनो सञ्चालन गर्न नपाउने व्यवस्था गरिएको भएपनि त्यसलाई थप स्पष्ट गर्नुपर्ने बताए ।
उनले प्रस्तावित विधेयकमा ‘होटल परिसर’को परिभाषा अझ स्पष्ट गर्न आवश्यक रहेको बताए । एउटै होटलको फरक-फरक भागमा छुट्टाछुट्टै क्यासिनो वा शाखा सञ्चालन गर्न नपाउने गरी कानूनी व्यवस्था स्पष्ट गर्नुपर्ने उनको माग छ । उनले क्यासिनोको वर्गीकरण नगर्न पनि आग्रह गरे । वर्गीकरण गर्नैपर्ने भए ४ हजार वर्गफिटभन्दा माथि र तलका क्यासिनोलाई हालको व्यवस्थाअनुसार ‘मिनी’ र ‘ठूलो’ क्यासिनो नै यथावत राख्नुपर्ने बताए । उनले क्यासिनोको इजाजतपत्र एक वर्षमा नविकरण गर्ने अवधि बढाउन पनि माग गरे । होटलहरूजस्तै क्यासिनोको नविकरण पनि पाँच वर्षमा गर्ने व्यवस्था गर्नुपर्ने उनको माग छ । एक वर्षको लाइसेन्सका कारण बैंकबाट ऋण लिन तथा दीर्घकालीन लगानी गर्न समस्या भएको उनको भनाई छ ।
उनले विदेशमा बसोवास गर्ने नेपाली तथा पीआरधारी नेपालीलाई पनि क्यासिनो प्रवेशको व्यवस्था गर्नुपर्ने बताए । पर्यटन व्यवसायी बलराम सापकोटाले भने नेपालमा अन्तर्राष्ट्रियस्तरको ठूलो क्यासिनो विकास गर्नुपर्ने बताए । क्यासिनोको लाइसेन्स शुल्क पनि कम रहेको बताउँदै उनले कम्तीमा १०० करोड रुपैयाँ हुनुपर्ने उल्लेख गरे । एउटा क्यासिनोले कम्तीमा ३०० देखि ५०० जनालाई रोजगारी दिने व्यवस्था गर्नुपर्ने उनको भनाई छ ।
उनले सानो क्यानिसो खोल्ने भन्दा ठूलो लगानी र रोजगारी सिर्जना गर्ने क्यासिनोलाई प्राथमिकता दिनुपर्ने बताए । ‘मिनी’ र ‘ठूलो’ क्यासिनोको वर्गीकरण हटाएर सबैलाई एउटै मापदण्ड लागू गर्नुपर्ने उनको भनाई छ ।
साना क्यासिनोलाई आपसमा मर्जर गरी ठूला क्यासिनोमा परिणत गर्न सकिने व्यवस्था ल्याउनुपर्ने उनको सुझाव छ ।छलफलमा व्यवसायीहरुले भारतीय ग्राहकलाई क्यासिनो प्रवेश गर्न सहज गराउन परिचय खुल्ने पत्र भए पुग्ने व्यवस्था गर्न पनि माग गरेका छन् । साथै उनीहरुले गैरआवासीय नेपाली, पिआरहोल्डर नेपालीलाई पनि क्यासिनो प्रवेश गर्न दिनुपर्ने सुझाव दिए ।
