चीनको विकासबाट नेपालले महत्वपूर्ण शिक्षा लिनुपर्छ: झलनाथ खनाल

विज्ञापन
ncell

चीनले स्थिरतालाई विकासको पहिलो र प्राथमिक शर्तका रूपमा लिएको उल्लेख गर्दै उनले नेपालमा पनि दिगो स्थिरताको आधार निर्माण गर्नु चुनौतीपूर्ण रहेको बताए ।

 काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपालले चीनबाट सिक्दै आफ्नै नयाँ विकास मोडल र समाजवाद निर्माण गर्नुपर्ने बताएका छन् । काठमाडौंमा आयोजित तेस्रो संस्करणको काष्ठमण्डप संवादको आइतबार समापन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले चीनले सन् १९४९ को क्रान्तिपछि हासिल गरेको राजनीतिक स्थिरता र विकासबाट नेपालले महत्वपूर्ण शिक्षा लिनुपर्ने बताए । चीनले स्थिरतालाई विकासको पहिलो र प्राथमिक शर्तका रूपमा लिएको उल्लेख गर्दै उनले नेपालमा पनि दिगो स्थिरताको आधार निर्माण गर्नु चुनौतीपूर्ण रहेको बताए ।

स्थिरता बिना दीगो विकास सम्भव नहुने उनको भनाई छ । चीनले आफ्नो राजनीतिक, आर्थिक र सामाजिक विकासका लागि अन्य देशको मोडलको नक्कल नगरी आफ्नै देशको विशेषताअनुसार बाटो तय गरेको उनले बताए । नेपालले पनि परिवर्तन र रूपान्तरणका क्रममा नेपाली विशेषताअनुसारको मोडल विकास गर्नुपर्ने उनको भनाइ छ । खनालका अनुसार चिनियाँ कम्युनिष्ट पार्टीले क्रान्तिका क्रममा उपलब्ध अन्य मोडललाई जस्ताको तस्तै अनुकरण नगरी चिनियाँ विशेषताअनुसारको बाटो विकास गरेको थियो ।

समाजवाद निर्माणमा पनि चीनले सोभियत संघ तथा पूर्वी युरोपका मुलुकहरूको मोडलको हुबहु अनुकरण नगरेको उनले बताए । चीनले विकास गरेको राजनीतिक प्रणाली र शासन व्यवस्थाबाट नेपालले सिक्नुपर्ने भएपनि चिनियाँ मोडलको प्रत्यक्ष अनुकरण गर्न भने नहुने उनको भनाई छ । नेपालले आफ्नै इतिहास, संस्कृति र सामाजिक विशेषतामा आधारित राजनीतिक तथा विकासको मोडल निर्माण गर्नुपर्नेमा उनले जोड दिए । हाल नेपालले पश्चिमा लोकतन्त्रको ठाडो नक्कल गरेको उनको आरोप छ ।

उनले पार्टी निर्माण र सुशासन दुवै क्षेत्रमा चीनको अनुभवबाट नेपालले सिक्नुपर्ने बताए । नेपालको आफ्नै ऐतिहासिक, सांस्कृतिक र सामाजिक विशेषतालाई आधार बनाएर राजनीतिक रूपान्तरणको प्रक्रिया अघि बढाउनुपर्ने उनको भनाइ छ ।