सरकारको रबैया देखेर जनता जनादेश फिर्ता गर्नुपर्ने पक्षमा पुगिसके : महेश बस्नेत
अन्तर्राष्ट्रिय शक्तिहरूले सामाजिक सञ्जाल र अल्गोरिदमको प्रयोग गरेर नयाँ पुस्तामा भ्रम सिर्जना गरि वर्तमान सरकार निर्माण गरिएको दाबी गरे ।
काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले वर्तमान सरकारका गतिविधि देखेर जनता निराश भएको बताएका छन् ।
शुक्रबार एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकपछि सञ्चारकर्मीहरुसंग कुरा गर्दै उनले जनता भोट फिर्ता गर्ने मनस्थितिमा पुगिसकेको दाबी गरेका हुन् । उनले सरकार बनेको ६ महिना नपुग्दै जनतामा निराशा उत्पन्न भएको बताए । अन्तर्राष्ट्रिय शक्तिहरूले सामाजिक सञ्जाल र अल्गोरिदमको प्रयोग गरेर नयाँ पुस्तामा भ्रम सिर्जना गरि वर्तमान सरकार निर्माण गरिएको दाबी गरे । सुशिला कार्की नेतृत्वको अन्तरिम तथा वर्तमान सरकारका गतिविधिका कारण जनताले आफ्नो निर्णय गलत भएको महसुस गर्न थालेको उनको भनाई छ । जनतामा अहिले उक्त ‘जनादेश फिर्ता गर्नुपर्ने’ मनोविज्ञान विकास भएको उनले बताए । उनले सर्वोच्च अदालतमा प्रतिनिधिसभा पुनस्थापना सम्बन्धी मुद्दा विचाराधीन रहेकोले संसद् पुनस्थापना गरेर गलत अभ्यास सच्याउनपर्ने बताएका हुन् । एमालेले यही विषय आगामी केन्द्रीय कमिटी बैठकमा छलफलको एजेन्डा बनाउने उनको दाबी छ ।
उनले पार्टी संगठनभित्रका कमजोरीलाई सुधार गरी जनतामा फैलिएका भ्रम चिर्नेगरि एमालेलाई सशक्त बनाएर लैजाने बताए । जनतासँगको सम्बन्ध थप बलियो बनाउँदै उनीहरूका मुद्दामा नियमित अन्तक्र्रिया र छलफल गर्ने तथा सामाजिक न्याय र समाजसेवाका काममा पार्टीलाई केन्द्रित गर्ने उनको भनाई छ । उहाँले पार्टीको समीक्षा तथा पुनर्गठनका लागि गठित कार्यदल पार्टी अध्यक्षलाई हटाउन गठन गरिएको भन्ने गलत प्रचार भईरहेको पनि बताए । कार्यदललाई निर्वाचनको समीक्षा तथा बदलिँदो राजनीतिक परिस्थितिमा पार्टी कसरी अघि बढ्ने भन्ने विषयसँगै पार्टी पुनर्गठनको जिम्मेवारी दिएको उनको भनाई छ ।
