ग्यासमा कालोबजारी गर्ने दुई व्यवसायी कारबाहीमा, ३–३ लाख जरिवाना

विज्ञापन
ncell

विभागले बजारमा ग्यासको कालोबजारी तथा अनियमितता बढेको सूचनाका आधारमा गरेको अनुगमनका क्रममा दुई व्यवसायीलाई जनही ३ लाख रुपैयाँका दरले कुल ६ लाख रुपैयाँ जरिवाना गरेको हो ।

काठमाडौं । उपभोक्ताबाट मनपरी मूल्य असुल्ने र मिलेमतोमा ग्यास बिक्री गर्ने दुई व्यवसायीमाथि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कारबाही गरेको छ । विभागले बजारमा ग्यासको कालोबजारी तथा अनियमितता बढेको सूचनाका आधारमा गरेको अनुगमनका क्रममा दुई व्यवसायीलाई जनही ३ लाख रुपैयाँका दरले कुल ६ लाख रुपैयाँ जरिवाना गरेको हो ।

विभागका अनुसार कागेश्वरी मनोहरा नगरपालिका–६, चखडोलस्थित अनिल किराना पसलले तोकिएको मूल्यभन्दा निकै बढी रकम लिएर ग्यास बिक्री गरिरहेको पाइएको थियो । पसलले सुगमलगायतका ग्यास प्रतिसिलिन्डर २ हजार ६ सय रुपैयाँसम्ममा बिक्री गरेको भेटिएपछि विभागको टोलीले स्थलगत अनुगमन गरी ३ लाख रुपैयाँ जरिवाना गरेको हो ।

उपभोक्ताको उजुरीका आधारमा पुगेको विभागको टोलीले पसलमा बढी मूल्यमा ग्यास बिक्री भइरहेको फेला पारेको थियो । सरकारले तोकेको मूल्यभन्दा बढी रकम असुल्नुका साथै ढुवानी खर्चको नाममा समेत उपभोक्तामाथि अतिरिक्त भार थोपरेको पाइएपछि विभागले तत्काल कारबाही गरेको जनाएको छ ।

त्यस्तै, ललितपुरको बालकुमारीस्थित एक ग्यास पम्पलाई पनि ३ लाख रुपैयाँ जरिवाना गरिएको छ । उक्त पम्पले टेम्पो तथा माइक्रोका लागि ग्यास बिक्री नगरी मिलेमतोमा आफ्ना मान्छे तथा पहुँचवालालाई मात्र ग्यास वितरण गरेको विभागको अनुगमनबाट खुलेको हो ।

पम्पले नियमविपरीत अपारदर्शी ढङ्गले ग्यास बिक्री गर्नुका साथै बिक्रीको आधिकारिक बिलसमेत नराखेको पाइएको विभागले जनाएको छ । अनियमितता पुष्टि भएपछि विभागले उक्त पम्पलाई केही दिनअघि नै ३ लाख रुपैयाँ जरिवाना गरेको हो ।

वाणिज्य विभागका सूचना अधिकारी अनिल किरातीले बजारमा अनुचित व्यापारिक गतिविधि गर्ने, कृत्रिम अभाव सिर्जना गर्ने वा उपभोक्तालाई मर्कामा पार्ने जुनसुकै व्यवसायीलाई कानुनबमोजिम कारबाही गरिने बताएका छन् ।

ग्यासको आपूर्ति तथा बिक्री वितरणमा समस्या देखिएपछि विभागले काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा अनुगमनलाई तीव्र बनाएको छ । विभागले ग्यासको मूल्य, बिक्री वितरण र आपूर्तिमा अनियमितता भएको पाइए तत्काल सूचना दिन उपभोक्तालाई आग्रहसमेत गरेको छ ।