चितवनमा इभी कारमा आगलागी, एक जनाको मृत्यु
आगलागीबाट कार पूर्ण रूपमा जलेर क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ ।
काठमाडौँ । चितवनको भरतपुर महानगरपालिका–९ बसन्तचोकमा विद्युतीय (इभी) कारमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शुक्रबार बिहान करिब ६ बजे पूर्व–पश्चिम राजमार्गको सर्भिस लेनमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बा.प्र.०१–०३० च ५५७९ नम्बरको विद्युतीय कारमा आगलागी भएको थियो ।
दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएपछि कारभित्र पुरुषजस्तो देखिने एक व्यक्ति जलेर मृत अवस्थामा फेला परेका थिए । आगलागीबाट कार पूर्ण रूपमा जलेर क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ ।
मृतकको सनाखत हुन नसकेको र घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
