जलवायु परिवर्तनका कारण विपद्को जोखिम बढ्यो, नेपाललाई जोगाउन विश्वव्यापी अभियान आवश्यक: देउवा

विज्ञापन
ncell

भोटेकोशी बाढीबाट प्रभावित रसुवादेखि चितवन र देशभरका नागरिकको अवस्थाप्रति दुःख व्यक्त गर्दै देउवाले विपद्मा ज्यान गुमाउनेका परिवारप्रति समवेदना व्यक्त गरे ।

काठमाडौं ।  नेपाली काँग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले जलवायु परिवर्तन र बढ्दो तापक्रमका कारण नेपालमा प्राकृतिक विपद्को जोखिम बढ्दै गएको बताएका छन्। बुधबार भक्तपुरमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

भोटेकोशी बाढीबाट प्रभावित रसुवादेखि चितवन र देशभरका नागरिकको अवस्थाप्रति दुःख व्यक्त गर्दै देउवाले विपद्मा ज्यान गुमाउनेका परिवारप्रति समवेदना व्यक्त गरे । उनले पछिल्लो समय विश्वभर तापक्रम बढिरहेको, समुन्द्री सतहसमेत उक्लिँदै गएको र ग्लोवल वार्मिङका कारण विभिन्न स्थानमा ठूला प्राकृतिक दुर्घटना भइरहेको बताए। नेपालमा समेत यसको प्रभाव प्रत्यक्ष रूपमा देखिन थालेको उनको भनाइ छ ।

देउवाले नेपालले जलवायु परिवर्तनका कारण उत्पन्न जोखिम न्युनिकरणका लागि विश्वव्यापी रूपमा अभियान सञ्चालन गर्नुपर्ने बताए । उनले हिमालमा हिउँ घट्दै जानु जलवायु परिवर्तनको गम्भीर संकेत भएको बताए । देउवाले जलवायु परिवर्तनबाट नेपाललाई जोगाउन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा प्रभावकारी पहल र अभियान आवश्यक रहेकोमा जोड दिए ।