ग्यास अभाव हटाउन सरकारको नयाँ व्यवस्था, जुनसुकै ब्रान्डको सिलिन्डर साट्न पाइने
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवको निर्देशनअनुसार अब उपत्यकाभित्र एउटा कम्पनीको खाली सिलिन्डर दिएर अर्को कम्पनीको भरिएको सिलिन्डर सोही मूल्यमा साट्न पाइने भएको छ ।
काठमाडौं । भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण काठमाडौँ उपत्यकामा देखिएको खाना पकाउने ग्यास (एलपी ग्यास) को आपूर्ति समस्यालाई समाधान गर्न सरकारले नयाँ र आपतकालीन व्यवस्था लागू गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवको निर्देशनअनुसार अब उपत्यकाभित्र एउटा कम्पनीको खाली सिलिन्डर दिएर अर्को कम्पनीको भरिएको सिलिन्डर सोही मूल्यमा साट्न पाइने भएको छ ।
आफूले प्रयोग गर्दै आएको ब्रान्ड बजारमा अभाव भएमा वा उपलब्ध नभएमा उपभोक्ताले अन्य ब्रान्डको सिलिन्डरमार्फत ग्यास खरिद गर्न सक्नेछन् । बाढीका कारण आपूर्ति चक्र बिग्रिएकाले उपभोक्तालाई तत्काल राहत दिन यो अस्थायी व्यवस्था गरिएको हो । मन्त्रीले यो निर्णयलाई तत्काल र कडाइका साथ कार्यान्वयन गर्न नेपाल आयल निगम तथा सम्पूर्ण ग्यास उद्योगहरूलाई कडा निर्देशन दिएकी हुन ।
साथै, संकटको मौका छोपेर कृत्रिम अभाव सिर्जना गर्ने, सिलिन्डर साट्न अस्वीकार गरी उपभोक्तालाई दुःख दिने वा तोकिएको नियम पालना नगर्ने जोकसैलाई पनि प्रचलित कानुनबमोजिम कडा कारबाही गरिने चेतावनीसमेत मन्त्रालयले दिएको छ।
