मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) दक्षिण-पूर्वी एसिया क्षेत्रीय समितिले नेपाललाई एक दशकदेखि मातृ तथा नवजातमा धनुष्टङ्कार उन्मूलनको अवस्था कायम राखेकोमा सम्मान गरेको छ ।
काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) दक्षिण-पूर्वी एसिया क्षेत्रीय समितिले नेपाललाई एक दशकदेखि मातृ तथा नवजातमा धनुष्टङ्कार उन्मूलनको अवस्था कायम राखेकोमा सम्मान गरेको छ ।
डब्ल्यूएचओले बलियो राष्ट्रिय प्रतिबद्धता, गुणस्तरीय खोप सेवा तथा सुरक्षित प्रसूति अभ्यासमार्फत उक्त उपलब्धि कायम राखेको भन्दै समितिको ७९औँ बैठकमा नेपाललाई सम्मान गरिएको हो । धनुष्टङ्कार (टिटानस) ब्याक्टेरियाको सङ्क्रमणका कारण हुने एक गम्भीर रोग हो । टिमोर-लेस्टेको डिलीमा जारी बैठकमा नेपालबाट अतिरिक्त सचिव डा.सङ्गीता कौशल मिश्राको नेतृत्वमा तीन सदस्यीय प्रतिनिधिमण्डल सहभागी छ ।
डब्ल्यूएचओका महानिर्देशक डा टेड्रोस एडहानोम गेहब्रेयससले नेपालका प्रतिनिधिमण्डल प्रमुख डा मिश्रालाई सम्मानपत्र हस्तान्तरण गर्नुभएको मन्त्रालयले जनाएको छ । सम्मानपत्रमा नेपालको उपलब्धिले दक्षिण-पूर्वी एसिया क्षेत्रमा मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राख्ने सामूहिक प्रयासमा महत्त्वपूर्ण योगदान पुर्याएको उल्लेख छ ।
