रसुवा बाढीः १ हजार ३ सय ४२ को शव फेला, ९८ जनाको सनाखत

विज्ञापन
ncell

रसुवाको भोटेककोशी-त्रिशूली करिडोरमा १० भदौमा आएको भीषण बाढीमा परी हालसम्म १ हजार ३ सय ४२ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले आइतबार साँझ नियमित प्रेश ब्रिफिङको आयोजना गर्दै यस्तो जानकारी दिएको हो ।

काठमाडौं । रसुवाको भोटेककोशी-त्रिशूली करिडोरमा १० भदौमा आएको भीषण बाढीमा परी हालसम्म १ हजार ३ सय ४२ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले आइतबार साँझ नियमित प्रेश ब्रिफिङको आयोजना गर्दै यस्तो जानकारी दिएको हो ।

प्रेस ब्रिफिङमा बोल्दै प्राधिकरणकी प्रवक्ता शान्ति महतले मृतकमध्ये ९८ जनाको सनाखत भई परिवारलाई हस्तान्तरण गरिसकेको बताइन् । उनका अनुसार नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसहित राज्यका विभिन्न संयन्त्र, प्राविधिक तथा विज्ञ टोली खोज तथा उद्धारमा परिचालित रहेका छन् ।

अन्तर्राष्ट्रिय विज्ञहरूले समेत खोज तथा उद्धार कार्यमा सहयोग गरिरहेको उनले बताइन् । प्रवक्ता महतले बाढीले क्षति पुर्‍याएका विभिन्न जलविद्युत आयोजनाका सुरुङहरुमा समेत खोजी कार्य जारी रहेको बताइन् । उनकाअनुसार हाल त्रिशूली-३ ए आयोजनाको सुरुङमा १६० मिटर, त्रिशूली-३ बीमा ३० मिटर, रसुवागढीमा २७५ मिटर, लाङटाङमा १५० मिटर र चिलिमेमा १७० मिटरसम्म पुगेर उद्धार टोलीले खोजी गरिरहेका छन् ।

उनले नेपाल प्रहरीको श्रव्यदृश्य विज्ञ टोलीले ड्रोनमार्फत बाढी प्रभावित खोला किनारको निरीक्षण, अवलोकन तथा विवरण संकलन गरी खोज तथा उद्धारमा सहजीकरण गरिरहेको बताइन् । उनले बाढीमा बेपत्ता भएका तथा फेला परेका शवको पहिचानका लागि आफन्त तथा नातेदारको डीएनए परीक्षण भइरहेको समेत बताइन् ।