अगस्टमा विदेशी पर्यटक आगमन ३.६ प्रतिशतले घट्यो, चीन र श्रीलंकाबाट आउने भने बढे

विज्ञापन
ncell

अगस्ट भित्रिए ८५ हजार ४४४ विदेशी पर्यटक

काठमाडौँ । नेपालमा सन् २०२६ को अगस्टमा विदेशी पर्यटक आगमनमा सामान्य गिरावट देखिएको छ । नेपाल पर्यटन बोर्डका अनुसार अगस्टमा ८५ हजार ४४४ जना अन्तर्राष्ट्रिय पर्यटक नेपाल आएका छन् । गत वर्षको सोही महिनामा ८८ हजार ६८० जना पर्यटक आएका थिए ।

गत वर्षको तुलनामा यस वर्ष अगस्टमा पर्यटक आगमन ३.६ प्रतिशतले घटेको हो । अर्थात्, गत वर्षको तुलनामा यस वर्ष ३ हजार २३६ जना कम पर्यटक नेपाल आएका छन् ।

यद्यपि, केही प्रमुख बजारबाट भने पर्यटक आगमनमा उल्लेख्य वृद्धि भएको छ । तथ्यांक अनुसार अगस्टमा सबैभन्दा धेरै पर्यटक भारतबाट २६ हजार ३७३ जना आएका छन् । यो कुल पर्यटक आगमनको ३०.८७ प्रतिशत हो । भारतपछि चीनबाट सबैभन्दा धेरै १० हजार ३०४ जना पर्यटक नेपाल आएका छन् । चीनबाट हुने आगमन गत वर्षको अगस्टको तुलनामा ३६.७८ प्रतिशतले बढेको हो ।

त्यस्तै, श्रीलंकाबाट ८ हजार ७१० जना पर्यटक आएका छन् । श्रीलंकाली पर्यटकको संख्या गत वर्षको तुलनामा ४६.२४ प्रतिशतले बढेको छ । अमेरिकाबाट ६ हजार २९३, बंगलादेशबाट ४ हजार ४८७ र बेलायतबाट ३ हजार ४७६ जना पर्यटक नेपाल आएका छन् ।

क्षेत्रगत रूपमा अगस्टमा सबैभन्दा धेरै पर्यटक दक्षिण एसियाबाट आएका छन् । यस क्षेत्रबाट ४१ हजार ४२२ जना पर्यटक नेपाल आएका छन् । अन्य एसियाली मुलुकबाट १८ हजार २७५, युरोपबाट १० हजार ८७५ र ओसियानिया क्षेत्रबाट २ हजार ५२९ जना पर्यटक आएका छन् । ओसियानियाबाट आउने पर्यटकको संख्या गत वर्षको तुलनामा ३.८६ प्रतिशतले बढेको छ ।

अमेरिकी क्षेत्रबाट ७ हजार ४७३ जना पर्यटक नेपाल आएका छन्, जुन गत वर्षको तुलनामा २.४७ प्रतिशत बढी हो । मध्यपूर्वबाट १ हजार १० जना पर्यटक आएका छन् भने उक्त क्षेत्रको आगमन ६.९९ प्रतिशतले बढेको छ । अफ्रिकाबाट ३३८ जना पर्यटक आएका छन्, जुन ४.९७ प्रतिशत वृद्धि हो ।

केही उदीयमान बजारबाट भने अझ उल्लेख्य वृद्धि देखिएको छ । रुसबाट ७६९ जना पर्यटक आएका छन्, जुन गत वर्षको तुलनामा ५१.३८ प्रतिशत बढी हो । युक्रेनबाट २१६ जना आएका छन् भने आगमन ८३.०५ प्रतिशतले बढेको छ ।

त्यस्तै, कम्बोडियाबाट ६८ जना पर्यटक आएका छन् । यो गत वर्षको तुलनामा २७७.७८ प्रतिशत वृद्धि हो । भुटानबाट १ हजार २८८ जना पर्यटक आएका छन्, जसमा ४९.२५ प्रतिशत वृद्धि भएको छ ।

मलेसियाबाट १ हजार ६१८ र थाइल्यान्डबाट ६८१ जना पर्यटक नेपाल आएका छन् । यी दुई मुलुकबाट हुने पर्यटक आगमन क्रमशः १३.०७ प्रतिशत र १९.८९ प्रतिशतले बढेको पर्यटन बोर्डको तथ्यांकले देखाएको छ । समग्रमा अगस्टमा पर्यटक आगमनमा सामान्य कमी आए पनि चीन, श्रीलंका, रुस, युक्रेनलगायतका बजारमा देखिएको उल्लेख्य वृद्धिले नेपालको पर्यटन बजारमा नयाँ गन्तव्य तथा स्रोत बजार विस्तारको सम्भावना देखाएको छ ।