रसुवा बाढीः सुरुङमा फसेका इन्जिनियरको उद्धारमा ढिलाइ भएको भन्दै इन्जिनियर्स एशोसिएशन आक्रोशित

काठमाडौं ।  सरकारले सुरुङमा फसेका इन्जिनियर तथा प्राविधिकहरुको उद्धारमा ढिलाई गरेको भन्दै नेपाल इन्जिनियर्स एसोसिएसनले आक्रोश व्यक्त गरेको छ । सोमबार एशोसिएशनको ललितपुरस्थित कार्यालयमा आयोजित पत्रकार सम्मेलन बोल्दै एशोसिएशनका अध्यक्ष सुवासचन्द्र बरालले यस्तो आपत्ति जनाएका हुन् । उनले सयौँ मानिसको ६ दिनसम्म उद्धार गर्न नसकेपछि दबाबमूलक अभियान शुरु गरिएको बताए ।

अध्यक्ष बरालले भीषण बाढीपछि केही व्यक्तिको सकुशल उद्धार भएपनि केही अझै सुरुङभित्र जीवन-मरणको दोसाँधमा रहेको बताए । उनले एशोसिएशनले सुरुदेखि नै सरकारका संयन्त्रहरुसँग सहकार्य गर्नै खोजेको भएपनि सरकार आफैंले सहकार्य नगरेको तथा निजी क्षेत्रका विशेषज्ञ तथा उपकरण पनि उपयोग नगरेको आरोप पनि लगाए । उनले राज्यको सम्पूर्ण क्षमता परिचालन गर्नुका साथै आवश्यक परे बाहिरबाट जनशक्ति ल्याएर भएपनि सम्पर्कविहीनहरूको सकुशल उद्धार गर्न सरकारसँग माग गरे ।

उनले बाढी आएको पहिलो दिनदेखि नै सरकारका सम्बन्धित निकायसँग समन्वय गर्दै आएको पनि बताए । उनकाअनुसार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, प्रधानमन्त्रीको कार्यालय, नेपाल विद्युत प्राधिकरण, निजी क्षेत्रका जलविद्युत आयोजना तथा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) लगायतका निकायलाई सम्पर्कविहीन व्यक्तिको उद्धारमा तत्काल पहल गर्न ध्यानाकर्षण गराइएको थियो । तर अपेक्षित गतिमा उद्धार हुन नसकेको उनको भनाइ छ ।

रसुवा बाढीमा विभिन्न जलविद्युत आयोजनाका सुरुङमा कार्यरत ९१० जना प्राविधिक तथा गैरप्राविधिक कर्मचारी सम्पर्कविहीन भएको एशोसिएशनले जनाएको छ । जसमध्ये १ सय ८८ जना इन्जिनियर रहेका छन् । सम्पर्कविहीन भएका इन्जिनियरहरुमा अपर त्रिसुलीमा ६० जना, लाङटाङमा २० जना रसुवागढी हाइड्रोमा २५ जना मेलुङमा ६ जना त्रिसुली ए मा ३० जना सम्पर्कविहीन भएको एसोसिएसनले जनाएको छ ।