विपद्का बेला सरकार खोज्नुपर्ने अवस्था आयो, कहिलेकाहीँ हेलिकप्टरमा उडेको देखिन्छः ओली
काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले रसुवा बाढीपछि सरकारले खोज, उद्धार र राहतको काम प्रभावकारी रुपमा गर्न नसकेको आरोप लगाएका छन् ।
सोमबार पार्टी केन्द्रिय कार्यालय च्यासलमा एमाले नेकपा एमाले राजधानी प्रदेश कमिटीबाट बाढी पीडितलाई हस्तान्तरण गरिएको दश लाखको चेक ग्रहण गर्दै उनले यस्तो आरोप लगाएका हुन् ।
उनले रास्वपा सांसद र मन्त्रीहरुलाई लक्षित गर्दै केहीले नागरिकलाई हप्कीदप्की गरेर फर्किने, केहीले आधारहीन निर्देशन दिने र केहीले समस्यामाथि थप समस्या सिर्जना गर्ने टिप्पणी पनि गरे । उनले विपद्पछि केन्द्रिय सरकारलाई खोज्नुपर्ने अवस्था रहेको टिप्पणी समेत गरे । उनले निजी क्षेत्रका हेलिकप्टरलाई उद्धारमा प्रयोग गर्न सरकारले रोक लगाएको भन्दै असन्तुष्टि समेत जनाए ।
उनले उद्धारका लागि तालिम प्राप्त जनशक्ति र हेलिकप्टर भएका निजी क्षेत्रलाई परिचालन गर्न दिए थप प्रभावकारी उद्धार हुनसक्ने भएपनि सरकारको त्यसतर्फ ध्यान नगएको बताए । अध्यक्ष ओलीले सुरुङमुनि तथा अन्य जोखिमयुक्त क्षेत्रमा हेलिकप्टरबाट मात्र उद्धार सम्भव नहुने बताए । उनले पीडितलाई आफन्तको खोजी गर्नसमेत सरकारले नदिएको भन्दै आपत्ति जनाए । उनले एमालेका नेता तथा कार्यकर्ता तथा स्थानीय र प्रदेशका जनप्रतिनिधि प्रभावित क्षेत्रमा काम गरिरहेको दाबी समेत गरे ।
