रसुवा बाढीः विदेशीसहित ४ हजार ४ सय ७२ जना सम्पर्कविहीन, हाइड्रोपावरका मात्रै ९ सय ३३
हाइड्रोपावरका सुरुङमा समेत उद्धार तथा खोजी कार्य जारी रहेको काफ्लेले बताए । उनले खनाखत हुन नसकेका केही शवहरुको व्यवस्थापन गरिएको समेत जानकारी दिए ।
काठमाडौं । भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी विदेशी पर्यटकसहित जम्मा ४ हजार ४ सय ७२ जना सम्पर्कविहीन रहेको नेपाल प्रहरीले जनाएको छ । केन्द्रिय प्रहरी प्रवक्ता अविनारायण काफ्लेले यस्तो बताएका हुन् । उनकाअनुसार सम्पर्कविहीन हुनेमा २५ जना प्रहरी समेत रहेकोमा ३ जना मृत फेला परि सनाखत समेत भइसकेको छ ।
उनले सम्पर्कविहीन हुने कर्मचारीहरुमा भन्सार कार्यालयका १५, अध्यागमनका चार, आठ वटा बैंक शाखाका २६, लाङटाङ राष्ट्रिय निकुञ्जका तीन तथा आठ हाइड्रोपावरका ९ सय ३३ जना रहेका छन् । प्रवक्ता काफ्लेले रसुवाबाट ५ सय ६२, नुवाकोटबाट १ सय १५, मकवानपुरबाट ६५ र सिन्धुपाल्चोकबाट २ सय २५ जना सम्पर्कविहीन भएको विवरण प्राप्त भएको बताए । उनले काठमाडौं उपत्यकामा ४ सय ८१ जना तथा कोशी प्रदेशमा १ सय ३८ जना सम्पर्कविहीन रहेको आएको समेत बताए । उनले गोसाइँकुण्ड गाउँपालिकाका उपाध्यक्षसहित केही जनप्रतिनिधि पनि सम्पर्कविहीन रहेको जानकारी प्राप्त भएको बताए ।
उनकाअनुसार बाढीमा परि सम्पर्कविहीन हुनेमा ७ सय ४५ जना आन्तरिक तथा बाह्य पर्यटकसमेत रहेका छन् । उनले हालसम्म बाढी प्रभावित जिल्लाहरुमा ७ सय ३५ जनाको शव फेला परेको समेत बताए । उनले विपद्पछि खोज, उद्धार र राहतमा ७ हजार ८ सय ८९ जना परिचालन गरिएको बताए । उनले आइतबार विहानै बाढीका कारण पृथ्वी राजमार्गअन्तर्गत धादिङको रोराङ गाउँपालिका-७ स्थित कृष्णभीरमा करिब सात मिटर सडक भासिएपछि राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको बताए ।
उनले अहिले टिमुरे, स्याफ्रुबेँसी र रसुवागढी क्षेत्रमा पुरिएका घर तथा शवको खोजी बताए । हाइड्रोपावरका सुरुङमा समेत उद्धार तथा खोजी कार्य जारी रहेको काफ्लेले बताए । उनले खनाखत हुन नसकेका केही शवहरुको व्यवस्थापन गरिएको समेत जानकारी दिए । उनले शवहरुको अन्तर्राष्ट्रिय मापदण्डअनुसार अस्थायी व्यवस्थापन गरिएको स्पष्ट पारे ।
