शव पहिचान नगरी जमिनमुनि व्यवस्थापन गरिनु सरकारी नीति गलतः महासचिव पोखरेल
शव व्यवस्थापनका विषयमा पीडित परिवारबाट असन्तुष्टि व्यक्त भइरहेको भन्दै उनले यस विषयमा सरकारले ध्यान दिनुपर्ने बताए ।
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारले रसुवा वाढीमा परी ज्यान गुमाएकाहरुको शव पहिचान तथा व्यवस्थापनका लागि अपनाएको नीति उचित नभएको बताएका छन् । आइतबार पार्टी कार्यलयमा आयोजित कार्यक्रममा उनले शव पहिचान र व्यवस्थापनको सरकारको कमजोरी देखिएको बताएका हुन्।
शवलाई पहिचान नगरि जमिनमुनी व्यवस्थापन गर्ने कार्य गलत भएको उनले बताए । शवको डीएनए परीक्षणपछि पुनः उत्खनन गर्ने गरी व्यवस्थापन गरिएको भएपनि उक्त प्रक्रियाबाट पीडित परिवार सन्तुष्ट हुन नसकेको उनको भनाई छ । शव व्यवस्थापनका विषयमा पीडित परिवारबाट असन्तुष्टि व्यक्त भइरहेको भन्दै उनले यस विषयमा सरकारले ध्यान दिनुपर्ने बताए ।
एमालेले प्रभावित क्षेत्रमा राहत तथा उद्धारका लागि पार्टी पङ्क्तिबाट सहयोग संकलन गर्न प्रदेश इन्चार्ज र अध्यक्षहरूलाई निर्देशन दिएको पनि महासचिव पोखरेलले जानकारी दिए । उनकाअनुसार पार्टीका तर्फबाट संकलन हुने सहयोग केन्द्रिय राहत कोषमा जम्मा गरिनेछ । महासचिव पोखरेलले वाढी प्रभावित जिल्लामा पार्टी केन्द्रसँग समन्वयका लागि फोकल पर्सन तोकेर अगाडी बढ्नुपर्ने बताए ।
सम्बन्धित जिल्लामा तोकिने फोकल पर्सनले प्रभावित क्षेत्रका सूचना संकलन गरी पार्टीले सञ्चालन गर्ने राहत तथा उद्धारका काममा समन्वय गर्ने उनको भनाई छ
