बाढी प्रभावित क्षेत्रमा आवतजावत खुलाउन भारत र चीनसँग ४२ वटा बेलिब्रिज माग

विज्ञापन
ncell

काठमाडौं । सरकारले बाढी प्रभावित क्षेत्रमा अवरुद्ध भएको आवतजावत सुचारु गर्न भारत र चीनसँग तत्काल ४२ वटा बेलिब्रिज उपलब्ध गराइदिन अनुरोध गरेको छ ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार नेपाललाई तत्काल आवश्यक पर्ने बेलिब्रिजको संख्या उल्लेख गर्दै दुवै छिमेकी राष्ट्रसँग सहयोगका लागि आग्रह गरिएको हो ।

हाल विदेशी सहयोग विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आवश्यकता र मागका आधारमा लिने व्यवस्था गरिएको छ । प्राधिकरणले बाढी प्रभावित क्षेत्रमा तत्काल यातायात सञ्चालन गर्न ४२ वटा पुल आवश्यक पर्ने अनुमान गरेपछि सरकारले भारत र चीनसँग सहयोग मागेको हो ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा नेपाललाई आवश्यक परेको अवस्थामा बेलिब्रिजलगायतका क्षेत्रमा सहयोग गर्न भारत तयार रहेको बताएका थिए ।

हालै आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट र धादिङका अधिकांश पुलमा क्षति पुगेको छ । पुलहरू भत्किएपछि विभिन्न स्थानमा दुईतर्फी आवतजावत पूर्ण रूपमा प्रभावित बनेको छ ।