भोटेकोशी बाढी: शव खोजी र संकलन तीव्र बनाउन थप १२ सय सैनिक परिचालन
नदीको तीव्र बहाव र कठिन भौगोलिक अवस्थाका बाबजुद पनि सैनिक टोलीले निरन्तर रूपमा बेपत्ता नागरिकको खोजी तथा शव संकलन कार्यलाई तीव्रता दिएको नेपाली सेनाले जनाएको छ ।
काठमाडौं । रसुवाको भोटेकोशीमा गत बुधबार आएको विनाशकारी बाढीपछि बेपत्ता भएका नागरिकहरूको खोजी तथा शव व्यवस्थापनमा ढिलाइ भएको भन्दै जनस्तरबाट गुनासो आएपछि नेपाली सेनाले आफ्नो अपरेसन थप तीव्र बनाएको छ ।
शव खोजी तथा संकलन कार्य ढिलो भएको भन्ने गुनासोलाई गम्भीरतापूर्वक लिँदै नेपाली सेनाले विशेष टोली परिचालन गरी धमाधम खोजी र शव संकलनको काम अगाडि बढाएको जनाएको छ । बाढीले शवहरूलाई तल्लो तटीय क्षेत्रसम्म बगाएर लैजान सक्ने सम्भावनालाई ध्यानमा राख्दै रसुवादेखि चितवनसम्मको नदी तटीय क्षेत्रमा शुक्रबार थप १२ सय सैनिक परिचालन गरिएको छ ।
नेपाली सेनाले प्रभावित क्षेत्रसँगै त्रिशूली र नारायणी नदी किनारका सम्भावित स्थानहरूमा टोलीगत रूपमा सैनिक खटाएर शव खोजी तथा संकलन कार्यलाई उच्च प्राथमिकताका साथ सञ्चालन गरिरहेको छ । यसअघि प्रभावित नागरिकहरूको उद्धार, राहत तथा अस्थायी व्यवस्थापनका लागि नेपाली सेनाले १६ सय जनशक्ति परिचालन गरेको थियो ।
आज थप १२ सय सैनिक परिचालन गरिएसँगै भोटेकोशी बाढी प्रभावित क्षेत्र तथा नदी तटीय इलाकामा उद्धार, राहत र शव खोजी तथा संकलनका लागि खटिएको नेपाली सेनाको कुल जनशक्ति २ हजार ८ सय पुगेको छ ।
नदीको तीव्र बहाव र कठिन भौगोलिक अवस्थाका बाबजुद पनि सैनिक टोलीले निरन्तर रूपमा बेपत्ता नागरिकको खोजी तथा शव संकलन कार्यलाई तीव्रता दिएको नेपाली सेनाले जनाएको छ ।
