गोसाईंकुण्डमा रहेकाहरूलाई सुरक्षित वैकल्पिक मार्ग प्रयोग गर्न आग्रहः समुन्द्रटार हुँदै काठमाडौं फर्कन सकिने

विज्ञापन
ncell

धुन्चेतर्फको नियमित पदमार्ग हाल जोखिमपूर्ण र विपद् प्रभावित क्षेत्रमा पर्ने भएकालेसुरक्षित मार्गको रूपमा ‘समुन्द्रटार रुट’ लाई प्राथमिकता दिन सरकारले सुझाव दिएको हो ।

काठमाडौं ।  प्राकृतिक विपत्तिका कारण गोसाईंकुण्ड क्षेत्रमा रोकिएका तीर्थयात्री तथा पर्यटकहरूलाई सुरक्षित रूपमा काठमाडौं फर्कनका लागि सरकारले वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ । 

धुन्चेतर्फको नियमित पदमार्ग हाल जोखिमपूर्ण र विपद् प्रभावित क्षेत्रमा पर्ने भएकालेसुरक्षित मार्गको रूपमा ‘समुन्द्रटार रुट’ लाई प्राथमिकता दिन सरकारले सुझाव दिएको हो । गोसाईंकुण्डबाट काठमाडौं फर्कन चाहनेहरूले सूर्यकुण्ड पास हुँदै हाई क्याम्प, फेदी, तालु र सिसिपु हुँदै घ्यामफेदी र समुन्द्रटारको बाटो प्रयोग गर्नसक्नेछन् । हालका लागि यो मार्ग तुलनात्मक रूपमा सुरक्षित रहेको सरकारले जनाएको छ ।

प्रतिकूल मौसम र सम्भावित जोखिमलाई मध्यनजर गर्दै तत्कालका लागि गोसाईंकुण्डतर्फको नयाँ यात्रा शुरु नगर्न समेत सर्वसाधारणलाई सचेत गराएको छ । हाल गोसाईंकुण्ड पुगिसकेका व्यक्तिहरूलाई मात्र यस मार्गबाट सुरक्षित अवतरण गर्न सरकारको आग्रह छ । आगामी केही दिनको मौसम र सम्भावित जोखिमका विषयमा पूर्ण पूर्वानुमान गर्न कठिन भएपनि हालसम्मको जानकारीअनुसार यो मार्ग सुरक्षित रहेको र यसलाई नै प्राथमिकतामा राखिएको छ ।