बाढी प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मी तथा आवश्यक स्वास्थ्य सामग्रीको व्यवस्था गरेका छौँः स्वास्थ्य मन्त्रालय
बाढीका कारण घर, पशुचौपाया तथा सम्पत्ति गुमाएका र आफन्त गुमाएका व्यक्तिमा मानसिक तनाव बढ्न सक्ने भन्दै मन्त्रालयले मानसिक स्वास्थ्य परामर्शका लागि ११६६ नम्बरमा सम्पर्क गर्न आग्रह गरेको छ ।
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बाढी प्रभावित क्षेत्रमा सम्भावित स्वास्थ्य जोखिम नियन्त्रणका लागि आवश्यक व्यवस्थापन गरेको जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीले रसुवा, नुवाकोट लगायत जिल्लामा भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा घाइतेको उपचार गर्न आवश्यक स्वास्थ्यकर्मी परिचालन गरेको जानकारी दिए । सम्भावित स्वास्थ्य जोखिम नियन्त्रणका लागि आवश्यक स्वास्थ्यसामाग्रीको पनि व्यवस्थापन गरेको उनले बताए ।
सम्पर्कविहीन स्वास्थ्यकर्मीको खोजी तथा प्रभावित स्वास्थ्य संस्थाको विकल्पमा अन्य स्थानबाट सेवा सञ्चालन गर्ने व्यवस्था पनि मिलाइएको उनले जानकारी दिए । बाढीबाट घाइते तथा चोटपटक लागेका व्यक्तिको खोजी, उद्धार र उपचारलाई प्रामिकतामा राखेर मन्त्रालयले काम गरिरहेको उनले बताए । स्थानीय स्वास्थ्य संस्थामा उपचार सम्भव हुने बिरामीलाई स्थानीय तहमै उपचारको व्यवस्था गर्ने र थप उपचार आवश्यक पर्ने घाइतेलाई काठमाडौं ल्याएर उपचार गर्ने गरी समन्वय भइरहेको डा.अधिकारीले बताए । काठमाडौंका विभिन्न अस्पतालमा बाढी प्रभावित घाइतेको उपचार भइरहेको छ ।
मन्त्रालयले उद्धारपछिका दिनमा देखिन सक्ने मानसिक स्वास्थ्य, पानी तथा खाद्यजन्य रोग र किटजन्य रोगको जोखिमलाई समेत मध्यनजर गरी स्थानीय द्रुत प्रतिकार्य टोलीलाई सक्रिय बनाएको उनले जानकारी दिए । सम्भावित स्वास्थ्य समस्याका लागि आवश्यक औषधि तथा उपचार सामग्री स्थानीय स्तरमै व्यवस्थापन गर्ने काम भइरहेको मन्त्रालयको भनाइ छ । बाढीका कारण घर, पशुचौपाया तथा सम्पत्ति गुमाएका र आफन्त गुमाएका व्यक्तिमा मानसिक तनाव बढ्न सक्ने भन्दै मन्त्रालयले मानसिक स्वास्थ्य परामर्शका लागि ११६६ नम्बरमा सम्पर्क गर्न आग्रह गरेको छ । बालबालिकासम्बन्धी सहयोगका लागि १०९८ तथा स्वास्थ्यसम्बन्धी समस्यामा ११५१ र ११५५ नम्बरको हटलाइन प्रयोग गर्न सकिने मन्त्रालयले जनाएको छ । मन्त्रालयले विपद्को समयमा नआत्तिन र स्थानीयस्तरमा एक-अर्कालाई सहयोग गर्न पनि आग्रह गरेको छ । छिमेकी, गाउँ तथा समुदायस्तरबाट हुने तत्कालीन सहयोग नै विपद्का बेला महत्वपूर्ण उद्धार बन्नसक्ने अधिकारीको भनाइ छ ।
